अनमोल क्यूट छ तर उसलाई अभिनय गर्नै आउँदैन– दिनेश डिसी


Filmy Kura, Feb 10, 2016 at 9:18 am

यतिबेला फागुन २१ गते रिलिज हुने दुई नेपाली फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ र ‘ड्रिम्स’ लाई लिएर फिल्मीबजारमा कसले बाजी मार्लान् भन्ने विषयमा खुब चासो बढीरहेको छ । नायक अनमोल केसीको स्टारडमको अगाडि दिनेश डिसी निर्देशित फिल्ममा स्टार भ्यालु नभएका कलाकार छन् भनेर चर्चा चलिरहेको छ । प्रस्तुत छ यहि सेरोफेरोमा निर्देशक दिनेश डिसीसँग फिल्मीकुराले गरेको कुराकानीको सम्पादित अंश :

के यहाँको पछिल्लो ताजा खबर ?
एकदम राम्रो छ । ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रमोशनको कामहरु भइरहेको छ । अब प्रतिक्षाको घडि पनि सकिन लागेको छ किनकी फागुन २१ आउन धेरै दिन बाँकी छैन ।

कतिको मुटु ढुकढुक ढुकढुक भइरहेको छ ?
होइन होइन मुटुको ढुकढुक नै हुदैन । यो मेरो पहिलो चलचित्र होइननी । यो चलचित्रले १ अर्ब कमाएपनि मैले उल्टो हललाई तिर्नु परेपनि यो व्यवसाय म बुझैरै आएको होनी त । म पहिलो पटक व्यापार गर्न व्यवसाय गर्न आएको होइन त्यसैले मुटु ढुकढुक भएको छैन । मैले यति मात्र सोचिरहेको छु । मैले गरेको सिर्जना दर्शकलाई चित्त बुझ्छ कि बुझ्दैन मन पर्छ कि पर्दैन । मेरो फिल्म एक जनाले हेरेनी एक लाख जनाले हेरेनी उसलाई कतिको छोयो कि छोएन भन्ने कुराले चाहि अर्थ राख्छ ।

तपाईको सिर्जनालाई दर्शकले मन पराउनेमा आशावादी हुनुहुन्छ ?
मन नपराउलान् भनेर फिल्म बनाउने नै होइननी । मन पराउछ नै भनेर बनाको हो । अब सबैलाई एउटै चिज मनपर्छ त ? महात्मा गान्धिलाई त नाथुराम गोड्सेले ढ्याङ्गै गोली हानेर मारिदिए । एक अरब भारतियहरुले राष्ट्रपिता मानेका गान्धिलाई किन गोली हान्नु पथ्र्यो त ? सबैलाई सबै कुरा त मन पर्दैन । त्यसकारण त्यो राम्रै हुन्छ भनेर बनाइएको हो । राम्रै हुन्छ भनेर त्यसमा ६५ लाख हालीएको हो । राम्रै हुन्छ भनेर त्यसमा अभिनय गराइएको हो ।

फिल्मले व्यापार गरेपनि नगरेपनि धादिङमा झोलुङ्गे पुल निर्माण गर्न आर्थिक सहयोग गर्ने कुरा छ, खास के हो ?
फिल्मको फाइदाको सम्पूर्ण रकम धादिङ मजुवाको ५ नम्वर वडामा रहेका ५५ परिवारको करिब ५५ देखि ६० विद्यार्थी जो तुइनमा झुन्डिएर विद्यालय जान्छन् उनीहरुले झुन्डिएर जानु नपरोस् भनेर त्यो पुल निर्माणको लागि सहयोग गर्ने भनेका हौ । सिनेमा भनेको व्यापार हो । मैले ‘छ एकान छ’ सुपरहिट बनाएको थिए अब यो पनि हुन्छ भन्ने होइन । पहिलो पनि कुन्नी कुन चाहि फ्लप भएको थियो अब यो पनि हुन्छ भन्ने होइन । सिनेमा भनेको प्रत्येक पटक नयाँ टेष्ट हो । केही गरेर अपेक्षित व्यापार गरेन भनेपनि घटिमा साढे ७ लाख रुपैयाँ चाहि हामीले सिटमनीका रुपमा प्रदान गर्छौ । त्यो फिल्म सकिएपछि नै हो ।

dinesh-dcसामाजिक सेवा भाव देखाउने हिसाबले फिल्मको पब्लिसिटी गर्ने तरिका यस्तो पो रहेछ है ?
पब्लिसिटी डेफेनेट्ली हो । आज संसार चलेकै पब्लिसिटीले हो । नरेन्द्र मोदि अरु नेता नै छैन जस्तो आज पब्लिसिटी कै कारणले भएको हो । त्यसैले मिडिया भनेको फिल्मको लागि एकदमै चाहिन्छ । अरु पब्लिसिटी मात्र गर्छन् म समाज सेवा पनि गर्छु । यो वर्ष मैले कन्टिन्यू समाजेसेवा मै आफुलाई समर्पित गरे । भूकम्प गयो त्यसपछि मात्र म धादिङको ज्यामिरेमा मात्र ६ पटक पुगे । म ‘ज्यामिरे’ भन्ने फिल्म पनि बनाउँदैछु चैत्र १५ बाट ।

गीतको शब्दबाट फिल्मको नामाकरण गर्नुभएको छ, कस्तो खालको फिल्म हो ‘फूलै फूलको मौसम तिमीलाई’ ?
‘फूलै फूलको मौसम तिमीलाई’ शीर्षक मैले चर्चित गायिका तारादेविले स्वरवद्ध गर्नुभएको रत्नशमशेरले शब्द रचना गर्नुभएको गीतबाट लिएको हुँ । कति राम्रो गीत छ यो । जुन म बच्चा बेलामा सुन्थे । भाग्यवश मैले तारादेवि कै नातामा मैले बिबाह गर्न पुगे । र म उहाँको ज्वाई हुन पुगे । मेरो माइजु सासु हुनुहुन्छ तारादेवि । मैले भनेको थिए त्यति बेलै यस्तो राम्रो शब्द छ कुनै दिन म यसकै शीर्षक सन्दर्भमा प्रेममय फिल्म बनाउने छु । त्यसकै फलस्वरुप फिल्म अब रिलिजको लागि तयारी अवस्थामा छ । यसको शब्दबाट थाहा हुन्छ प्रेममा समर्पण त्याग सबैकुरा हुन्छ भनेर । फिल्म भित्र मैले सुपर न्याचुरल प्रेमलाई देखाउने कोसिस गरेको छु ।

तपाईले नवनायक आमेश भण्डारी नै यस फिल्ममा ब्रेक दिनुको पछाडि ?
सुपर न्याचुरल पावर भएको फिल्म बनाउँदा मैले त्यहाँ आर्यन सिग्देल राखे भने कन्भिन्स हुन गाह्रो हुन्छ । अथवा जीवन लुइँटेल अथवा चिनिएका कुनै पनि अनुहार । त्यसपछि मैले नयाँमा नै जानुपर्छ भन्ने भयो । आमेश र नीता व्यक्तिगत रुपमा पनि सम्बन्धित थिए पहिलेदेखि । मान्छे स्मार्ट पनि छ सिनेमामा उसलाई इन्ट्रेष्ट पनि छ । गीत पनि गाउँछ कम्पोज पनि गर्छ त्यसमाथि पढेलेखेको केटा हो । मेरो चिनजान ‘छ एकान छ’ बनाउदा देखिको हो । अब अर्को नयाँ केटालाई पनि मैले सिकाउनै पर्छ भने इन्ट्रेष्ट भएको केटा जो नीता सँग भोलि गएर जीवन बिताउँदैछ भनेपछि उनीहरुसँग दैनिक जसो मेरो भेट हुन्छ भने अर्को किन खोजेर हिडुँ भन्ने भयो । अनि आमेशलाई नै लिएको हुँ । व्यक्तिगत जीवनमा पनि मैले नयाँ मान्छेलाई चान्स दिए । ट्यालेन्ट मान्छेलाई प्रोत्साहन दिनुपर्छ भन्ने मान्यता राख्छु म । करियरको २० वर्षको लेन्थमा दीपकराज गिरी, जीतु नेपाल, दमन रुपाखेती, नारद खतिवडा देखि लिएर अहिले पछिल्लो समय गजित विष्ट, गायिका दुर्गा परियार सम्मको प्रतिभा भित्राउने काम त गरेको हुँ नी ।

तपाईको फिल्म ‘ड्रिम्स’ सँग जुध्दैछ, नायक अनमोल केसीको आफ्नै क्रेज छ । स्टारडम भएका अनमोलको अगाडि स्टार भ्यालु नभएका कलाकार तपाईको फिल्ममा छन् । बाजी कसले मार्ला जस्तो लागेको छ ?
नेपालमा स्टारडमे फिल्म चल्दैन । फिल्म चल्न कन्टेन्ट चाहिन्छ । पहिलो दिन भिडको लागि त्यसले केही सहज वातावरण ल्याउला । नीता ढुङ्गानाका पनि आफ्ना फ्यानहरु छन् । यो कसैले नभुल्नु कि दिनेश डिसी भनेको नी एउटा ब्रान्ड हो । चर्चामा आएका कुन चाहि कलाकारको पछिल्लो समय फिल्म चलेको छ ? यसकारण नामले मात्र फिल्म चल्ने होइन । अनमोलको फिल्म मात्र चल्छ भन्ने होइन कसैको पनि नचल्न सक्छ । ‘परदेशी’ भन्ने फिल्म चारवटा फिल्मसँग जुधेको हो आखिर मुनाफा कमाउनेमा ‘परेदशी’ नै ठहरियो मेरो त दुई वटा फिल्मसँग प्रतिस्पर्धा हुदैछ म किन डराउने ? भुवन दाईले डेट अनाउन्स गर्नु भन्दा धेरै पहिले मैले मेरो फिल्मको रिलिज डेट तोकेको थिए । यो त स्वतन्त्र व्यापार हो मैले कसैलाई नचला भन्न मिल्दैन । मैले सुने भुवन दाइले मेरो फिल्मको नामै लिन चाहनु भएन रे ठिक छ । उहाँले भन्दै हिड्नु भएको रहेछ मेरो फिल्म बलिउड सँग प्रतिस्पर्धा गर्ने खालको छ त्यसो भए उतै तिर लगेर चलाए भैहाल्यो । नेपालमा रिलिज गर्ने होइन । अनमोल भाइका केही फ्यान होलान् म त्यसलाई मान्छु तर उनलाई अभिनय गर्नै आउँदैन । क्यूट हुनु र अभिनय हुनु फरक कुरा हुन् ।

भनेपछि आमेशले नै गर्छ अनमोलको भन्दा राम्रो अभिनय ?
त्यो त भन्नै पर्दैन । ट्रेलर मै हेर्नुस् न । मैले उसका कमजोरी यदि खुलाए भने अनमोललाई गाह्रो हुन्छ । भुवन केसीको माइली श्रीमती अनमोलको आमा सुष्मिता वञ्जन म सँग राम्रो लिंकमा हुनुहुन्छ । त्यसकारण म यो भतिजाको फिल्मलाई नेगेटिभ बोल्न चाहन्न । म त भन्छु अनमोललाई अभिनय सिकाउने निर्देशक चाहिन्छ । सुन्छु भतिजाले कुन्नी कतिवटा फिल्म नका¥यो रे खेलेन रे । अर्को फिल्म खेल्यो भने उसको करियरको लेन्थ छोटो हुन्छ भन्ने कुरा भुवन केसीलाई राम्रो सँग थाहा भएका कारणले उहाँले अरुको फिल्म खेल्न नदिनु भएको हो ।

अन्त्यमा ?
म योजनाको साथमा हिड्ने मानिस हुँ । अब निरन्तर फिल्म निर्माण मै सक्रिय हुन्छु । मिडियाबाट कति पनि अलग भएको छैन । कुनै पनि बखत टेलिभिजनमा नयाँ कार्यक्रमको साथमा आउन सक्छु । सम्पूर्ण पाठकलाई फागुन २१ गते ‘फूलै फूलको मौसम तिमीलाई’ हेर्न आउन निमन्त्रणा दिन्छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु