फिल्म वर्ष समीक्षा २०७२


Filmy Kura, Apr 12, 2016 at 7:58 pm

photoनेपाली फिल्मले त्यति लामो काल खण्ड पार गरेको छैन । २०७२ साल सम्म आइपुग्दा ६६ वर्षे इतिहास नेपाली फिल्मले ब्यतित गरेको छ । विगत वर्ष भन्दा यो वर्ष नेपाली फिल्मका लागि प्राकृतिक विपत्तीले गर्दा दुःखद रह्यो । ०७२ को प्रारम्भ मै बिनाशकारी भूकम्पले गर्दा तीन महिना सम्म नेपाली फिल्मको निर्माण तथा प्रदर्शन ठप्प रहे । भूकम्प पश्चात राजनीतिक दलले पाठ सिक्दै नेपालमा संविधान जारी गरे । संविधान जारी हुनासाथ मधेसी मोर्चाका दलको सहयोगार्थ भारतले गरेको अनिश्चित कालिन नाकाबन्दीको चेपुवामा फिल्म क्षेत्र पनि प¥यो । यो वर्ष दुई खालका प्राकृतिक र राजनीतिक विपत्तीका बाबजुद वर्ष भरि कुल ६७ वटा फिल्म रिलिजमा आए । विगत वर्षलाई हेर्ने हो भने सयको हाराहारीमा फिल्म रिलिज भएको पाइन्छ । ६७ वटा रिलिजमा आएका फिल्म मध्ये मुस्किलले करिब १० फिल्म मात्र लगानी उठाउन सफल भए । बाँकी करिब ६० हाराहारीका फिल्म कतिबेला हल आए र उत्रे स्वयमं निर्मातालाई समेत पत्तो भएन ।

हिट फिल्म
ती दश फिल्म पनि कोही विषयवस्तुका कारण चले कोही कलाकारका कारण अनि कोही फिल्म भने गीत संगीत कै कारण चले । ड्रिम्स, परदेशी, रेशम फिलिली, वडा नम्बर ६, रामप्यारी, नाइ नभन्नू ल ४, कबड्डी कबड्डी, पशुपति प्रसाद राम्रो चलेका फिल्म हुन् । रेशम फिलिली बैशाख ११ गते रिलिज भएको थियो । त्यसको भोलिपल्ट भूकम्प जादा प्रत्यक्ष घाटा फिल्ममा देखियो । गीतकै कारण यो फिल्म चल्यो । गीत मन पराउने दर्शक फिल्ममा पनि विशेष केही होला भनेर हेर्न जाँदा निराश बने । संगीत बलियो भएपनि फिल्मको पटकथा संवाद दर्शकका निमित्त खासै बिकाउ भएन । ‘ड्रिम्स’ केबल कलाकार अनमोल केसीको क्रेजका कारण चलेको हो । यद्दपि फिल्मको विषयवस्तुले दर्शक तान्न नसकेको तितो यथार्थ छदै नी छ । यो फिल्मले पनि निर्मातालाई राम्रै रकम गोजीमा मुनाफा स्वरुप दिलाइदियो । हिट फिल्मको कुरा गर्ने हो भने परदेशी पनि छुटाउन नहुने फिल्म हो । चार चार वटा फिल्म सँग जुध्नु परेपनि यसले दर्शक आफू तिर यसरी बटुल्यो कि अरु निर्माता ट्वा नै परे । निर्देशक नारायण रायमाझीको हाइ हाइ नै भयो राम्रो काम गरेको भनि । नारायण बंशल जो यसका निर्माता हुन् उनी पनि फिल्म चलेको देखेर दंग परे । यो फिल्म केबल विषयवस्तुका कारण चलेको थियो । यसमा अभिनय गर्ने कलाकार इन्डियन आइडल प्रशान्त तामाङ र नायिका रजनी केसीको भने फिल्मले बम्पर हान्दा पनि केही चर्चा भएन ।

यस्तै अर्को व्यावसयिक रुपमा सफल भएको फिल्म हो ‘कबड्डी कबड्डी’ । रामबाबु गुरुङले कबड्डी हिट भएपछि यसको सिक्वेल स्वरुप कबड्डी कबड्डी निर्देशन गरेका थिए । दयाहाङ राई, सौगात मल्लको काम यसमा खुबै रुचाइयो । कलाकारका कारण चलेको अर्को फिल्म हो वडा नम्बर छ । हास्य कलाकारको जम्बो टोली अनि सुर्के थैली बोलको गीत दर्शक तान्ने हतियार बन्यो । दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, सिताराम कट्टेल धुर्मुस अनि प्रियंका कार्की सँगै दीपाश्री निरौलाको अभिनय भएको फिल्मले पनि राम्रै आम्दानी ग¥यो । सफल फिल्म बनाउने भनेर चिनिएका उज्जवल घिमिरे निर्देशित बडा नम्बर ६ ले सफलताको स्वाद चाखे सँगै पूर्ण रुपमा नेपाली अरग्यानीक फिल्म पशुपति प्रसाद पनि दर्शकको तारिफ बटुल्ने फिल्म बन्यो । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछानेको अभिनय सर्वाधिक रुचाइयो ।

सफलताका साथ दोस्रो सातामा चलिरहेका वर्षका अन्तिम रिलिज ‘रामप्यारी’ र ‘नाईँ नभन्नू ल ४’ पनि राम्रै व्यापार गर्ने फिल्ममा पर्छन् । रेखा थापा निर्मित तथा अभिनित फिल्मले नया अनुहार आभाष अधिकारी र नायिका आश्मा डिसीलाई दर्शकमाझ परिचित गराइदियो । यो फिल्मका निर्देशक भने सविर श्रेष्ठ हुन् । यस्तै विकास आचार्य निर्देशित नाईँ नभन्नू ल ४ ले पनि लगातार चौथो जित विकासलाई दिलाएको छ । विगतका शृङ्खलामा झै दर्शक तान्न उनी सफल रहे । नव नायक पल शाह, नव नायिका वर्षा राउत र आँचल शर्मालाई यो फिल्मले निकै प्लस गरायो ।

फिल्म चलेर पनि लगानी उठाउन नसकेका फिल्ममा ‘प्रेम गीत’ र ‘क्लासिक’ ले आफ्नो नाम दर्ता गराए । करोड माथि बजेटमा निर्माण भएका यि दुई फिल्ममा प्रदर्शनताका कडा प्रतिस्पर्धा नपरेको भने होइन । यद्धपि ‘क्लासिक’ भन्दा राम्रो व्यापार गरेता पनि ‘प्रेम गीत’ ले प्रेम मात्र पायो लगानी रिकभर गर्ने सम्मको पैसा पाएन ।

हिट नायक
अब नायकको कुरा गरौ । यो वर्ष कुनै जमाना एक छत्र राज गरेका राजेश हमालको केही लागेन । उनी सँगै एक्सन किङको उपमा पाएका शिव श्रेष्ठ अभिनित ‘बागमती’ फिल्म बग्नै सकेन । करोड माथिको लगानी लगाएको यो फिल्मको चुरीफुरी धेरै थियो तर राजेश र शिवको जमाना गयो भन्ने सम्मको भान गरायो ‘बागमती’ ले । उल्लेख्य दर्शक साथ र फ्यान पाएका नायक अनमोल केसी वर्षकै चलेको हिरोका रुपमा लिन सकिन्छ । अभिनेता समेत रहेका उनका पिता भुवन केसी निर्देशित ‘ड्रिम्स’ ले अनमोललाई यति सफल गरायो कि उनी हलमा पुग्दा दर्शक भिड नियन्त्रण गर्न बडी गार्डको साथ लागेर जानुपर्ने सम्मको स्थिति देखियो । सम्भवत् नेपालमा बडी गार्ड सहित हिरो हल पुगेको यो नै पहिलो घटना होला । अनमोलका यस अघिका दुई फिल्म होस्टेल र जेरी सुपर हिट भएका थिए । ‘ड्रिम्स’ सँगै उनले ह्याट्रिक मार्न सफल भएका छन् । यता चर्चाका हिसाबले यस अघि दुई फिल्ममा अनुहार देखाएपनि प्रदीप खड्कालाई चिनाउने फिल्म ‘प्रेमगीत’ नै बन्यो । लभस्टोरी जनराको यो फिल्ममा प्रदीपको अभिनयलाई सबैले रुचाइदिए । अहिले उनलाई थुप्रै फिल्मबाट अफरको ओइरो लागेको छ । यद्धपि उनले कुनै फिल्ममा तत्काल खेलिहाल्ने मनस्थिति भने बनाएका छैनन् । दयाहाङ राई अर्को बिर्सन नसकिने नाम हो । ‘कबड्डी कबड्डी’ मा उनको अभिनयको प्रसंसा गर्ने धेरै भेटिए । हिरो हुन हाइट वेट र अनुहार चाहिन्छ भन्ने मान्यता उनले तोडिदिए । हिरो भन्दा पनि उनी अभिनेताका रुपमा सशक्त छन् भन्न सकिन्छ । यस्तै नायक सौगात मल्ल पनि चर्चामा रहिरहे । उनले अभिनय गरेका फिल्मले खासै छलाङ मार्न नसके पनि अभिनय क्षमता अब्बल छ भन्ने कुराको भने प्रमाणित गरिदिए । यहि वर्ष नायक निखिल उप्रेती पनि कमब्याक भए । नायकका रुपमा परिचित उनी निर्देशक बनेर भित्रिए । ‘भैरव’ फिल्मलाई आफैले लेखन निर्देशन गरेका निखिल पोलिसको भूमिकामा देखिए । तराईको राजनीति चलखेललाई पर्दामा उतार्ने कोसिस गरेका उनले यो फिल्मबाट खुबै चर्चा बटुले । ‘भैरव’ पछि निखिलले ‘लुटेरा’ मा अभिनय गरे । त्यहा पनि उनको एक्शनलाई रुचाइयो ।

चलेका फिल्मका आधारमा हेर्ने हो भने ‘परदेशी’ हिरो प्रशान्त तामाङलाई पनि लिन सकिन्छ तर प्रशान्तको हाल सम्म हेर्ने हो भने कुनै निर्माताले अफर गरेर फिल्ममा लिएको पाइएको छैन । हास्यकलाकार भएकै कारण चलेको फिल्म ‘वडा नम्बर ६’ को पनि हिरो कुन हो किटान गरेर भन्न सकिन्न । दयाहाङ देखि दीपक, जीतु कमेडी पात्रमा देखिए । ‘रेशम फिलीली’ मा अभिनय गर्ने विनय श्रेष्ठ हिरोका रुपमा देखिए पनि अर्का कलाकार कामेश्वर चौरासियाले गर्दा उनी छायाँमा परे । यो वर्ष नायक आर्यन सिग्देलको लागि फलदायी वर्ष रहन सकेन । उनको होम प्रोडक्शनमा तयार ‘क्लासिक’ मा अभिनयको तारिफ भएता पनि अरु फिल्म भित्तामा टासिने पोस्टरमा सिमित रहे । अर्का हिरो जीवन लुईँटेलका लागि त खै के भन्ने यो वर्ष । फ्लप फिल्मका हिरो हुन् जीवन भन्दा फरक पर्दैन । ‘काफल पाक्यो’ फिल्ममा उनले काफल पकाउन सकेनन् । काचो काफल दर्शकले रत्तिभर रुचाएनन् । नायक दीलिप रायमाझी यहि वर्ष विदेशिए । उनी अमेरिकाको ग्रीन कार्ड लिएर सपरिवार सहित अमेरिका तिर लागे ।

नायकको खडेरी जस्तै परेका बेला कुनै समय हिट हिरोका रुपमा परिचित विराज भट्ट पुन नेपाली फिल्ममा कमब्याक भए । ‘पर्शुराम’ फिल्ममा प्रमुख भूमिका निभाएका विराजले यो फिल्मबाट दर्शकको मन जित्न सकिने ठूलो आशा राखेका छन् । यस्तै अभिनयको हिसाबले ‘पशुपति प्रसाद’ फिल्मका कलाकार खगेन्द्र लामिछाने पनि चर्चामा रहे । उता धेरै फिल्म खेलेर पनि नायक सविन श्रेष्ठले दर्शकको मन जित्न सकेनन् । उनको यो वर्ष थुप्रै फिलिम रिलिजमा आए तर जसरी आए त्यसरी नै उत्रे । यस हिसाबले ०७२ साल नायक अनमोल केसी मय रह्यो भन्दा अतियुक्ति नहोला ।

हिट नायिका
वर्ष भरि नै दुई नायिका प्रियंका कार्की र केकी अधिकारी पर्दामा छाइरहे । तथापी यि हिरोइनका कुनै पनि फिल्म सफल हुन सकेनन् । व्यक्तिगत रुपमा फिल्म धेरै खेल्दा पैसा कमाए पनि निर्माताको गोजीमा भने यि दुई अभिनित कुनै फिल्मले पैसा पारिदिन सकेन । संख्यात्मक रुपमा फिल्म धेरै खेल्ने नायिकामा दरिए प्रियंका केकी । उता नीता ढुङ्गानाका लागि त यो वर्ष खराब नै सावित भइदियो । ठूलो आशा गरेकी थिइन उनले दीनेश डिसी निर्देशित फूलै फूलको मौसम तिमीलाईबाट तर विडम्बना यो फिल्मले फूलको वर्षा गराउन सकेन । दर्शकले काडाँ बराबरको स्थान दिएपछि नीता पनि हेरको हे¥यै परिन । अर्की नायिका निशा अधिकारीको लागि पनि वर्ष ०७२ त्यति फलदायी भएन । लुटेरामा उनले निखिल सँग अभिनय त गरिन तर दर्शकको मन निशाले भन्दा निखिले नै लुटिदिए पछि निशा यता त उताको भइन । अर्की नायिका अनु शाहको पनि हालत त्यस्तै नै देखियो । अभिनय तारिफ बटुल्न भने नम्रता श्रेष्ठ सफल रहिन् । क्लासिकमा आँखा देख्न नसक्ने अन्धि बनेर खेलेकी नम्रताको काम दर्शक देखि चलचित्रकर्मी सम्मलाई मन प¥यो । ऋचा शर्माको लागि पनि यो वर्ष त्यति सफल रहेन । फरक क्यारेक्टर गर्ने कलाकारका रुपमा चिनारी छाडकी उनले को आफ्नो फिल्ममा दर्शकलाई आफ्नो बनाउन सकिनन् ।

वर्षको अन्ततिर आएर रिलिज भएको फिल्म रामप्यारी हिरो रेखाको भने सदा झै दर्शकको हाइ हाइ हेर्न लायक थियो । नायिका भए पनि नायक सरह उनी पर्दामा देखिइन् । रामप्यारी हेर्ने दर्शकले उनलाई उचालेर बोके । प्रेम गीत नायिका पूजा शर्माको पनि अभिनयका प्रसंसक धेरै बने । तर उनले सुदर्शन थापा बाहेक अरु निर्देशक सित कुनै काम गर्न पाएकी छैनन् । सुदर्शनको काखी च्यापेर फिल्म खेलेको आरोप उनले सामना गर्नुप¥यो । वर्ष भरिको गतिविधि नियाल्दा विदेश कार्यक्रम जाने देखि विभिन्न फिल्ममा खेलेर व्यस्त जीवन ब्यतित गरेकी नायिका प्रियंकाको चर्चा बढी भएको पाइयो । यसर्थ प्रियंकाले यो पटक रेखा थापा देखि लिएर सहकर्मी नायिकालाई उछिनेकी छिन् ।

हिट निर्देशक
यो वर्ष निर्देशक दीपेन्द्र के खनालको निर्देशकिय पक्षलाई उत्कृष्ट मान्न सकिन्छ । पशुपति प्रसादमा उनको काम गर्ने शैली धेरैका लागि पाठ समेत बन्यो । हिन्दी फिल्मको हुबहु देखाउन खोज्ने नेपालका निर्देशक माथि दीपेन्द्रले कडा चुनौती दिए । कम बजेटमा निर्माण भएको यो फिल्मले निर्मातालाई राम्रै मुनाफा दिलायो । चलेका फिल्मका आधारमा हेर्ने हो भने परदेशी निर्देशक नारायण रायमाझी अग्रस्थानमा आउछन् । यस अघि गोर्खा पल्टन नामक फिल्मबाट हिट ठहरिएका उनले परदेशीबाट अर्को सफलता हाता पारे । वडा नम्बर ६ निर्देशक उज्जवल घिमिरे पनि वर्ष ०७२ मा सफल फिल्म निर्देशन गर्नेमा पर्छन् । रामप्यारी हिट भएपनि निर्देशक सविर श्रेष्ठ भने छाँयामा परेको देखियो । किनकी रेखाको फिल्ममा उनी आफै बढी हाली मुहाली भएको पाइन्छ । यता विकास आचार्य लगातार एउटै नामबाट फिल्म बनाउदा पनि सफल हुने निर्देशकमा परे । नाईँ नभन्नू ल नामलाई ब्राण्ड बनाएर प्रमाणित गरिछाडे । लभस्टोरी फिल्म निर्देशनमा सुदर्शन थापाले आफ्नो क्षमताको पुष्टि गरे ‘प्रेम गीत’ बाट । हुन त मेरो एउटा साथी छ बाहेक उनी निर्देशित कुनै फिल्म सफल मान्न सकिन्न । निर्माता डुबाउन माहिर निर्देशकका रुपमा उनको नाम अचेल सबैले लिने गर्छन् । तथापी प्रेम गीत लाई मसलेदार बनाउन सुदर्शनको हात ठूलो छ । क्लासिक निर्देशक दिनेश राउत पनि फरक काम गर्न सक्ने खुवी भएका निर्देशक हुन भनेर प्रमाणित गर्न लागिपरेको देखियो । क्लासिकमा अन्धा अन्धीको रोचक प्रेमलाई पर्दामा उतार्न उनी सफल भए । ड्रिम्स फिल्मको भने निर्देशन नायक समेत रहेका भुवन केसीले गरेका हुन् । उनको डेब्यू निर्देशन रहेको फिल्म भने भुवन भन्दा अनमोलका कारण चलेको भन्ने व्यक्तिहरु धेरै पाइयो ।

गीत संगीत
यो पटक सांगीतिक पक्ष बलिया भएका फिल्म नै व्यापारिक रुपमा सफल रहे । जस्तो रेशम फिलीलीको पारी त्यो डाडामा हेर गीत यति भाइरल बन्यो कि यसका सयौ भिडियो युट्युवमा फरक फरक खालका देख्न सकिन्छ । कालि प्रसाद बाँस्कोटालाई संगीतकारका रुपमा परिचित गराउने गीत भइदियो यो । साना साना बच्चाको मुखमा यो गीत झुन्डी सेकेको छ । यस्तै लुटेरा फिल्मको गीत पनि खुबै चले । अर्जुन पोखरेलले संगीतकारका रुपमा थप चिनारी यो फिल्मको गीतबाट बनाउन सके । यो वर्ष संगीतको कुरा गर्ने हो भने अर्जुन पोखरेलमय रहेको देखिन्छ । प्रेमगीतको शिर्ष गीत म यस्तो गीत गाउछु मा पनि अर्जुन कै संगीत रहेको छ । कभर सङ कम्पिटिशन समेत भएको यो गीतलाई पनि धेरैले मन पराए । अन्जु पन्त र सुगम पोखरेलले यो गीत गाएका छन् । बडा नम्बर ६ को गीत सुर्के थैली त युट्युवमा सर्वाधिक हेरिने नेपाली फिल्मको गीतमा प¥यो । संगीतकार राजनराज सिवाकोटीलाई यो गीतले धेरै नै प्लस गरायो । यस्तै परदेशी फिल्मको गीत पनि निकै मनछुने बनेका थिए । बेदनाले भरिएको गीतले भने धेरैलाई रुवाउन सफल रह्यो । समग्रमा यो वर्ष गीत कै कारण फिल्म चलेको पाइयो । हुन त फिल्मले गीत बोक्नु पर्ने हो तर गीतले फिल्मलाई लिड गरेको वर्ष हो ०७२ । अर्धकट्टी फ्लप फिल्म हो तर यसको गीत फिगर कोका कोला भने राम्रै चल्यो । नायिका अशिष्मा नचले पनि उनको फिगर खुबै चल्यो है भन्ने सम्मका कुरा आए । जे होस् गीत संगीत फिल्मका मेरुदण्ड हुन् भन्ने कुरालाई अस्विकार गर्न सकिदैन ।

चर्चित काण्ड
यो वर्ष चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्ति भए सँगै राजकुमार राईले सालिनता नअपनाएको कुरा बढि हाइलाइट भयो । निर्माता माधव वाग्लेलाई कार्यकक्षमै हात हाल्ने सम्मको हर्कत राजकुमारले गर्दा पुलिस केस सम्म भएको घटना सेलाउन निकै समय लाग्यो । जे होस् यतिबेला उनीहरु मिलिसकेका छन् तर पुलिस कस्टडी सम्म माधव वाग्लेले राजकुमारलाई उभ्याइ छाडे । यो घटना भन्दा वर्षको अन्त्यतिर आएर भने अर्को रोचक घटना भइदियो जुन यति हाइलाइट भयो कि खै के भन्ने । पत्रकार डब्बु क्षेत्री निर्देशित फिल्म राहदानी हेरेपछि वर्तमान कृषिमन्त्री हरिबोल गजुरेल बच्चा जसरी डाँको छोडेर रोए । फिल्म हेर्ने अरु दर्शकलाई प्रतिक्रिया माग्दा कोही पनि रोएनन् तर मन्त्री भने यसरी भावुक भएर रोए कि निर्देशक डब्बुले सम्हाल्नु पर्ने अवस्था देखियो । कतिले त यसलाई फिल्म चलाउने फण्डा पनि भनिदिए तर तस्बिर आफै बोल्छ भने झै उनी रोएको भने वास्तविक थियो ।

भूकम्प, नाकाबन्दी र कलाकार
वर्षको प्रारम्भमा गएको भूकम्पले सबैलाई क्रसित बनाइरहदा कलाकारले भने दिल खोलेर राहत वितरण देखि लिएर विभिन्न प्रस्तुती मार्फत केही मल्हम लगाउने काम गरे । यो सामाजिक काममा वडा नम्बर ६ का कलाकार सिताराम कट्टेल बढि क्रियाशिल रहेको देखियो । उनले त सब काम धन्दा छाडेर काभ्रे जिल्लाको पहरी बस्तीमा नमुना बस्ती नै बसाले । यो कार्यको सबैले सराहाना गरे । अन्य चलचित्रकर्मीले पनि आफूले सकेको सहयोग विभिन्न ठाउँमा गएर गरे । यो त थियो भूकम्पको कुरा । डर र क्रास सकिन नपाउँदै नेपालमा संविधान जारी भयो । तर असन्तुष्ट पक्षले नाकाबन्दी गर्ने सम्मको हर्कत कसैलाई मान्य थिएन । तर पनि महिनौ सम्म त्यसको पिडामा चलचित्रकर्मी गुज्रनु प¥यो । ग्यास अभाव देखि लिएर पेट्रोल नहुदा चलचित्रकर्मी घर मै थन्किए । कतिले त दाउरामै पकाएर समेत खाना खाए । अभाव र समस्याबाट नेपाली फिल्ममा आबद्ध चलचित्रकर्मीले पनि गतिलै पाठ सिके । नाकाबन्दीको विरोध स्वरुप संगठन नै खडा गरेर यसको विरुद्धमा कलाकार नउत्रेका भने होइनन् । सामाजिक काममा दिल खोलेर लाग्ने देखि आम नेपालीले दुःख पाउदा सडक ओर्लिने सम्मको काममा कलाकार अग्रसर रहे । जे होस् संविधानमा चलचित्र क्षेत्रको पनि केही केही कुरा समेटेकोमा उनीहरु खुसी देखिन्थे । चलचित्र क्षेत्रको मुहार संविधान जारी पछि केही फेरिएला कि भन्ने ठूलो आशामा चलचित्रकर्मी रहेका छन् ।

अवार्ड
यो वर्ष थुप्रै फिल्म अवार्ड भए । भूकम्पका कारण भने अर्को वर्ष गर्ने गरी कामना अवार्ड स्थगित गरियो । भएका कुनै पनि अवार्ड विवाद रहित रहन सकेनन् । कतिले त अवार्ड किनबेच भएको कुरा खुलस्त भन्दै हिडेको समेत पाइयो । यद्धपि अवार्ड घट्ने भन्दा बढेकै पाइयो । वर्षको अन्त्यतिर आएर भने बक्स अफिस फिल्म अवार्डले राम्रो चर्चा बटुल्यो । अवार्ड जस जसले हासिल गरेपनि यो अवार्ड विशेष रहनुको एउटै कारण थियो आकाशमा हवाइ जहाज उड्दा उड्दै यो अवार्ड बाडिनु । नेपालबाट थाइल्याण्डमा उडान भर्दै यो अवार्ड बाडिए पछि गिनिज बुकमा नाम लेखाउने चक्करमा यति बेला आयोजक संस्थाका अध्यक्ष आर के सुवेदी लागिपरेका छन् । नेपालका लागि पहिलो पटक यो खालको फरक शैलीको अवार्ड भएको हो ।

कन्क्लुजन
अन्तत विनाशकारी भूकम्प र नाकाबन्दीको मारमा परे पनि नेपाली फिल्मका लागि यो वर्ष सुखद मान्न सकिन्छ । कारण विगत वर्षको तुलनामा यो पटक धेरै नेपाली फिल्मले व्यापार राम्रो गरे । अभाव र समस्याका बीच पनि दर्शकले नेपाली फिल्मको लागि समय र पैसा खर्चिए । दर्शकको साथ नाकाबन्दीमा पनि रह्यो । आर्थिक रुपमा ह्रास आएपनि प्रदर्शनमा आएका जति फिल्मले सकारात्मक सुरुवात गरे । हुन त हप्तामा तीन देखि चार फिल्म सम्म आउनु आफैमा लगानी सेफ गर्न नसक्ने आधार हुन् । हप्तामा एक मात्र राम्रा सिनेमा चल्ने हो भने वर्ष भरि रिलिज भएका फिल्म मध्ये ८० प्रतिशत फिल्मले लगानी उठाउनेमा दुई मत छैन । यो वर्षलाई सरसर्ती हेर्दा आफ्नै विषयवस्तुका मौलिक नेपाली फिल्म चल्दा रहेछन् भन्न सकिन्छ । यस अर्थमा कि पशुपति प्रसाद र परदेशी विदेशी फिल्मको गन्ध समेत नआउने फिल्म हुन् । आशा गरौ विषयवस्तु नयाँ खोजिने छन् । क्रियशनमा निर्देशक लागि पर्नेछन् । कलाकार अभिनयमा फोकस गर्नेछन् । र सहि लगानीकर्ता यो क्षेत्रमा भित्रने छन् । ०७३ साल फिल्मको लागि फलदायी वर्ष रहोस् । नयाँ वर्षको तपाई पाठक, शुभचिन्तक तथा चलचित्रकर्मीमा शुभकामना ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)