भुवन केसीले स्टेजमा बोकेपछि मेरो फिल्मी करियर स्टार्ट भयो : नायक सलोन बस्नेत


Filmy Kura, May 22, 2016 at 5:02 pm

‘होस्टेल’ फिल्मबाट नायकका रुपमा डेव्यू गरेका सलोन बस्नेत युवापुस्ताले निकै रुचाएका कलाकार भित्र पर्छन् । बालकलाकारीतामा एउटा अमिट छाप बनाएका सलोन अभिनयमा पारङ्गत छन् । उनै सलोनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘गाजलु’ यही जेठ २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यहि सरोफेरोमा नायक सलोन सँग फिल्मीकुरा प्रतिनिधीले गरेको कुराकानीको सम्पादित अंश :

salon

अचेल ह्यान्डसम देखिनु भएको छ त ?

राम्रो त हुनै पर्यो नी । अब एउटा मिडिया फिल्डमा लागेपछि सबै मान्छेको नजरमा परिदो रहेछ । त्यसमाथि फिल्म खेलेको भनेपछि उहाँहरुको सोचाई फरक नै हुन्छ । पछिल्लो समय त मेरो काम पनि मन पराई दिइरहनु भएको छ । मेरो फ्यानहरु जसले धेरै माया गरिदिनु भएको छ उहाँहरुको कारण पनि मेरो मुहारमा चमक आएको हुनुपर्छ ।

परिवारका प्राय फिल्म क्षेत्र मै सक्रिय हुनुहुन्छ बुबा (शोभित बस्नते) डाइरेक्टर अंकल (जयकिशन बस्नेत) हिरो त्यही भएर पनि बाल्यवस्था देखि यो लाइनमा तपाईलाई देख्न पाइएको हो ?

मलाई जहाँ सम्म मेरो ड्याडिले भने अनुसार हामी फिल्म क्षेत्रमा आउनु भन्दा पहिला स्टेजमा विभिन्न शोजहरु गथ्र्यौ रे । डान्स अनि नाटक स्टेजमा गरिन्थ्यो रे । म त सानै थिए । म जन्मिनु भन्दा पहिला ड्याडि भिडियो फिल्म देखि स्टेज कार्यक्रममा बढि सक्रिय हुनुहुन्थ्यो । त्यहाँबाट नै मेरो परिवारको फिल्मी करियर स्टार्ट भएको हो । म जन्मेपछिको कुरा गर्नुहुन्छ भने मैले पहिलो पटक आफ्नो कला देखाउने मौका सभा गृहमा पाएको थिए । एउटा डान्स शो मा मैले पर्फम् गरेको थिए । तीन वटा गीतको फ्यूजनमा । त्यतिबेला हाम्रो कार्यक्रमको चिफ गेष्ट चाहि भुवन अंकल (सहाबहार नायक भुवन केसी) हुनुहुन्थ्यो । मेरो पर्फम् सकेपछि भुवन अंकल स्टेजमा आएर मलाई उचाल्नु भयो । सायद उहाँलाई मेरो प्रस्तुति मन परेको थियो होला । त्यसपछि उहाँले उठाएर अब मैले बनाउने फिल्म ‘नेपाली बाबु’ मा यसलाई हिरो बनाउछु भनेर स्टेजमा बोलिदिनु भयो । त्यहाँबाट चाहि मेरो फिल्मी करियर स्टार्ट भयो ।

भुवन केसीले मेरो फिल्मको हिरो यही हो भनेर घोषणा गर्दा तपाईको उमेर कति वर्षको थियो ?

म त्यहि ६ वर्षको जति थिए होला । हुन त यो उमेरमा अरु आमाको काखमा खेल्दै बसेका हुन्छन् । म भित्र एउटा कला जन्मजात थियो जस्तो लाग्छ । नत्र त्यति सानो उमेरमा भुवन अंकलको मन जित्न जो कोहीले कहाँ सक्छ र ?

‘नेपाली बाबु’ हेर्नेले तपाईको अभिनयलाई लिएर अझै पनि कुरा गर्छन् होला है ?

हो अवस्य । मेरो अभिनयको तारिफ धेरैले गरे । अझै पनि त्यो फिल्मको नाम लिदा मलाई पनि सम्झेको पाउछु । स्टेजमा पर्फम् गरिरहेको म भुवन अंकलले एउटा ठूलो प्लाटफर्म् दिनुभयो । म धेरै माझ चिनिए सानैमा । मेरो सुरुवात नै राम्रो टिम सँग हुन पायो भनौ न । मेरो त्यो पहिलो फिल्म हो जसमा मैले अभिनय कै कारण नेशनल अवार्ड समेत पाए । मेरो लागि चाहि त्यो एकदमै लक्कि फिल्म हो ।

पारिवारिक पृष्ठभूमि सबल हुँदा तपाईले त्यो प्रकारको चान्स पाउनु भएको हो भन्छन् नी ?

अहिलेको कुरा गर्दा चाहि अब फिल्म पनि धेरै नै बनिरहेको छ । अहिले वर्षमा सयको हाराहारीमा फिल्म निर्माण हुन्छ भने ‘नेपाली बाबु’ निर्माण भएको ताका त वर्षको दश वटा फिल्म पनि मुस्किलले बन्थे । फिल्ममा राम्रै खर्च हुन्थ्यो त्यतिबेला । फेरि जो पाए त्यहि कहाँ सजिलै कलाकार हुन पाउथे र ? ड्याडको सपोर्ट बिना त कहाँ यहाँ सम्म आइपुग्थे र । उहाँले यो क्षेत्रमा हिड्नका लागि हात समाएर डोर्याउनु  भएको छ । तर ड्याडको सपोर्ट भएर मात्र आज सलोन बस्नेत सलोन बनेको होइन । सायद म मा पनि केही क्वालिटी थियो होला । र त मैले चान्स पाए । म सँग यदि क्षमता थिएन भने आज ड्याडले डिरेक्शन गरेको मात्र फिल्म खेल्नु पर्ने अवस्था आउन सक्थ्यो कम्तिमा मैले त्यो हुन दिएको छैन ।

६ वर्षको उमेरमा क्यामेरा फेस गर्दा कस्तो अनुभव भएको थियो केही याद छ ?

सानै थिए त्यो बेला । खासै याद त छैन । निर्देशक भारतबाट आउनु भएको थियो । उहाँले एकदमै राम्रो को–अर्डिनेट गरिदिनु भएको थियो । सेकेण्ड डे को सुट चाहि अझै याद छ । पुष महिनाको समय थियो । फेरि पुष निकै जाडो महिना हो । त्यो पुषको रात जल अन्टिको सल समातेर पानी परिरहेको बेला घिर्सिने सिन थियो । दुई ट्याङ्कर पानी शरीरमा खनाई सक्यो । त्यो बेला यति मलाई गाह्रो भएको थिएन । अझै पनि त्यो सिन म सम्झन्छु । जे होस् भुवन अंकल सुस्मिता अन्टि मेरो ड्याड पनि त्यहि हुनुहुन्थ्यो । सपोर्ट सबैबाट पाए तर त्यो जाडो कसरी बिर्सिउ । म जाडो भएर साच्चिकै रोईरहेको थिए । त्यो सुट ड्याडिले हेर्न पनि सक्नु भएन । मैले त्यतिबेला रुदै मलाई गाह्रो भयो मलाई फिल्म खेल्नु छैन म गर्दिन भनेको थिए ।

बालकलाकार भएर तपाईले अभिनय गरेका प्राय फिल्मले त ठूलो मान्छेलाई नी रुवाउछ है ?

मेरो क्यारेक्टर नै त्यस्तै प्रकारका हुन्थे । भावुक रुन्चे कही न कतै मन छुने । म रुदाँ त्यसलाई साच्चिकै ठानेर ठूलो मान्छे नै रोएको समेत पाएको छु । फेरि मलाई त्यतिबेला जति पनि फिल्म निर्माण गर्ने प्रोडुसर देखि निर्देशक सम्मले रुवाउने नै रोल दिनु हुन्थ्यो । सानु हुँदा धेरैलाई रुवाए अहिले ठूलो भएपछि फेरि धेरैलाई हँसाए ।

बालकलाकारमा जमेको मान्छे हिरो बन्ने सोच कसरी आयो ?

६ वर्षको हुँदा सुरुवात गरे । २०५५ सालको कुरा हो । थुप्रै फिल्ममा बालकलाकार भएर राम्रै काम गरे जस्तो लाग्छ । सानै थिए मान्छेले मन पराए । सर्टेन टाइमका लागि त्यो उचित पनि थियो । अब म पनि बढ्दै गए । जवान भए । मैले बालकलाकार भएर खेलेको अन्तिम फिल्म ‘हामी तीन भाई’ हो । मान्छे पनि हाइटी हाइटी हुँदै गए । त्यसपछि भने म बालकलाकार हुँदिन भन्दा पनि सुहाउँदैन भन्ने लाग्यो । जुन नायिकाको छोरा भएर म खेल्थे अब म पनि त्यहि नायिका जत्रो देखिन थालेपछि भने सुहाउने कुरा पनि भएन । त्यतिबेला एस.एल.सी. को पनि तयारी गर्नुपर्ने । पढाई पनि ह्याम्पर हुने जस्तो देखियो । अनि मैले अनाउन्स पनि गरे बालकलाकारबाट सन्यास लिन्छु भनेर । फिल्ममा अभिनय गर्ने पाटोमा मैले ब्रेक लिए पनि बिहाइन्ड दि सिन मैले ड्याडलाई असिष्ट गरिरहेको हुन्थे । सिक्न सकिने कुराहरु सिकिरहेको हुन्थे । कलाकार कसरी रोएको हासेको एक्टिङ गर्छन् मैले हेरेर सिके । मनमा त्यति बेला लाग्थो एउटा राम्रो एक्टर चाहि बन्नुपर्छ भनेर । बालकलाकार भएर ४० देखि ४५ वटा फिल्म त खेले । यसपछि भने उमेरका कारण पनि हिरो हुनुपर्छ भन्ने सोच आयो । ‘होस्टेल’ फिल्मबाट अफर आयो मैले ओके भने ।

‘होस्टेल’ मा तपाई सँगै डेव्यू गर्ने अनमोल केसीको अहिले यति धेरै चर्चा चुलिदा कस्तो लाग्छ ?

अनमोल र म भनेको बच्चै बेला देखिको साथी पनि हौ । सानै देखि सँगै खेल्यौ । ‘नेपाली बाबु’ देखि एकप्रकारको राम्रो चिनजान त्यो बेला देखिको मित्रता हो हामीबीचको । अनमोलले अहिले जुन स्थान बनाएको छ त्यो कुराले मलाई एकदमै खुसी लाग्छ । कति पत्रकारले मलाई सँगै हिरो बनेको साथी अनमोल त्यहाँ पुगिसक्यो डाहा लाग्दैन ? भनेर पनि सोध्नुहुन्छ । तर मलाई कहिले त्यस्तो फिल भएन । अनमोल म अनि गौरव भनेको फिल्म इन्डष्ट्रिजको अर्को पीडिको रुपमा छौ । यो समय भनेको मैले उसको इष्र्या गर्ने अर्कोले मेरो इष्र्या गर्ने समय होइन । हामी सँगै अगाडि बढेर इन्डष्ट्रिलाई फाइदा हुने काम गर्नुछ जस्तो लाग्छ । अनमोल जहाँ छ त्यो उसले काम गरेर भएको हो । भेट हुँदा हामी कुरा गर्छौ तिमी यसरी अगाडि बढ तिमी यो गर ।

‘होस्टेल’ खेलेपछि त अफरको ओहिरो नै आयो है ?

त्यो फिल्मबाट जंगे पात्र दर्शकको दिमागमा छाप बनेर बस्यो । त्यसपछि मैले ‘लभसब’ फिल्ममा काम गरे । क्रमश मैले ‘एउटा साथी’, ‘आभाष’ र ‘आधा पेज’ मा हिरोको रुपमा काम गरे । अब भने ‘गाजलु’ आउँदैछ । जसरी ‘होस्टेल’ बाट मलाई एउटा हाउडे पाराको चरित्रमा रुचाउनु भयो । ‘गाजलु’ सम्म आइपुग्दा अभिनयमा केही निखार पक्का आएको छ । विगतका फिल्ममा काम गर्दा सुधार्नु पर्ने पक्ष ‘गाजलु’ मा गरेको छु । र यो फिल्ममा भने म अलि लठेब्रो टाइपको भूमिकामा छु । मैले विगत गरि आएका भन्दा यसमा टोटल्ली फरक क्यारेक्टर छ । स्लो टाइपले मेरो दिमाग चल्छ, कुरा नबुझ्ने यो प्रकारको छ ।

‘गाजलु’ को मुख्य कलाकार मध्ये तपाई पनि एक हुनुहुन्छ तर चर्चा त अनमोलकै बढी देखिन्छ नी ?
उहाँको केही समय अघि मात्र ‘ड्रिम्स’ रिलिज भएको थियो । फिल्मले राम्रो व्यापार पनि गर्यो । त्यो हिसाबमा पनि अनमोलको चर्चा बढी चुलिएको हो । ‘गाजलु’ को प्रोमोबाट नी थाहा पाउन सकिन्छ कि हामीले यसमा एउटा थिम उठाएका छौ । नेपाली समाजमा भइरहेको घटना मै फिल्म केन्द्रित छ । विषयका हिसाबले पनि अनमोललाई ट्रेलरमा हाइलाइट गरिएको छ । चर्चा हुनु स्वाभाविक ठान्दछु ।

अन्त्यमा ?

दर्शकबाट अत्याधिक माया पाइरहेको छु । आगामी दिनमा अझ राम्रा फिल्म खेल्नेछु । जसरी बालकलाकारमा रुचाउनु भयो त्यसरी नै आजका दिनमा पनि तपाईले सम्झिन योग्य काम गरि नै रहेको छु । म अभिनित फिल्म ‘गाजलु’ यहि जेठ २८ गतेबाट रिलिज हुँदैछ । अरु त भन्दिन यो फिल्म हेरिसकेपछि सलोको छुट्टै प्रकारको छाप अथवा भनौ परिचय स्थापित हुनेमा ढुक्क छु । फिल्म हेर्नुहोला इन्जोए लिनुहोला । फिल्मीकुरालाई यति मिठो अन्तर्वार्ता गरिदिएकोमा धन्यवाद ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु