हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?


Filmy Kura, May 23, 2016 at 3:29 pm

nepali-film-piracyपछिल्लो समय भटाभट नेपाली फिल्म पाइरेसी हुने क्रम बढीरहेको छ । नेपाली फिल्मको वृहत्तर हितका निमित्त खोलिएका संघ सस्था पाइरेसी न्यूनिकरणका लागि मौन बसेका छन् । न्यूनिकरण भन्दा पनि यसको पूर्ण रोकथाम नै गर्न सक्यो भने कसैको बौद्धिक सम्पति चोरिने डर हुने थिएन । यही सेरोफेरोमा फिल्मीकुराले चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पाइरेसी रोक्न के गर्नुपर्ला भनेर प्रश्न सोधेको थियो । प्रस्तुत छ उनीहरुले दिएको जवाफ जस्ताको त्यस्तै । 

group

सर्बप्रथम त चलचित्र क्षेत्र सँग सम्बन्धित संघ संस्थाहरुले यो विषयलाई गम्भिर रुपमा लिएर छानबिन गर्नुपर्यो । पाइरेसी हुनुका कारण र त्यसको नियन्त्रण तथा कारवाहीका कामहरुलाई कडा रुपमा लागु गर्नुपर्यो । यस विषयमा चलचित्र विकास बोर्ड जस्ता विभिन्न संघ संस्थाहरु ऐक्यबद्धताका साथ अगाडि बढ्नुपर्छ । होसियार हुनुपर्छ जस्तो लाग्छ । अर्को कुरा पाइरेसी गर्ने व्यक्ति आफै एउटा सभ्य नागरिकको हैसियतले हामी कलाकार निर्माताहरुको सम्मानका लागि हल सम्म पुगेर टिकट काटेर अनुशासित ढंगले फिल्म हेरिदिनु पर्यो  ।
-पूर्व मिस मंगोल/नायिका सपना रोका

पाइरेसी रोक्ने काम राज्यको हो । विकास बोर्डको हो । तलब भत्ता टन्न यस शीर्षकमा खाइरहेका, पाइरहेका छन् । मेरो तर्फबाट भन्नुहुन्छ भने म निर्माता संघको सचिव भएको बेला मैले एक्लै गएर पूर्वमा ३५ वटा पसलेलाई छापा मारेर जेलमा थुनेर मुद्दा चलाएको थिए । अझै कति जना त मुद्दा खेपिरहेका छन् तर मेरो एक्लो प्रयासले मात्र केही हुँदैन । सामुहिक प्रयास हुनुपर्दछ । व्यापारीहरुमा इमान्दारीता हुनुपर्दछ । ग्राहकहरुले पनि त्यो कुरा पाइरेसी सामान किन्न हुन्न भन्ने बुझ्नु पर्छ र बुझाउनु पर्छ । त्यतिगर्दा पनि भएन भने कानुनको साहायता लिई कडा कारवाही गर्नुपर्छ । पहिलो कुरा चाहि जनचेतना मै जोड दिनुपर्छ ।
-नायक/निर्माता नवल खड्का

हिट होस् या फ्लप फिल्म जुनसुकै फिल्मको पाइरेसी गर्नु कानुनी अपराध हो । यसलाई रोक्न दह्रो कानुन बन्नु पर्छ । पाइरेसी गर्नेलाई फिल्मको सम्पूर्ण क्षतिपूर्ति तिराउनु पर्छ । सबै संघ संस्थाहरु सक्रिय हुनुपर्छ । विकास बोर्डले पनि आवश्यक कदम चाल्नु पर्छ ।
-फिल्म लेखक/निर्देशक ओम प्रतिक

सबैभन्दा पहिले इडिटिङ गर्ने ठाउँमा इम्पोर्टेन्ट मान्छे बाहेक कोही छिराउन दिनु भएन । अनि फिल्म सेन्स गर्दा सबै ठाउँमा चेक गर्नु पर्छ । फिल्म हल पुग्दा गेट देखि सबै ठाउँमा चेक हुनु पर्छ । अनि यदि त्यसो गर्दा भएन भने हलमा हार्ड डिस्क र डिभिडि के लगिन्छ स्क्रिनमा त्यो हलको नाम टाइप हुन पर्छ । ताकी कहाँबाट फिल्म पाइरेसी भएको थाहा हुन्छ । र पाइरेसी पत्ता लागेमा कराडे जरिवाना अनि दुई वर्ष जेल हाल्नुपर्छ ।
-नृत्य निर्देशक गोविन्द राई

चलचित्र विकास बोर्ड खारेज गर्नुपर्छ । राजकुमार राईले राजिनामा दिनु पर्छ । के हेरिरहेका छन् राजकुमार दाई ?
-चलचित्र लेखक/कलाकार गणेश बेलवासे

पहिलो कुरा कानुन नै कडा हुनु पर्यो । अर्को कुरा जसले फिल्म जिम्मा लिएको हुन्छ त्यसले आफ्नो कर्तव्य इमान्दारी तरिकाले पूरा गर्नु पर्यो । पाइरेसी भएको थाहा पाए त्यो कसले गरेको हो त्यसलाई अनुसन्धान गरी कडा कारवाहीको व्यवस्था हुनुपर्यो ।
-नायक प्रमोद दीप

अनलाइन मिडिया चलाउनेहरुलाई नियमन गर्नुपर्छ । प्रतिलिपि ऐनलाई एकदम प्रभावकारी बनाउनु पर्छ । ऐन भएर हुन्न कार्यान्वयन एकदम फित्तलो छ त्यसैले यसमा नियमनकारी निकाय, चलचित्र विकास बोर्ड सबै जना एकदम सचेत हुन जरुरी छ ।
-टेलिभिजनकर्मी राधाकृष्ण धिताल

चलचित्र क्षेत्रमा नीति नियम कमजोर भएर पनि यस्ता पाइरेसी जस्तो जटिल समस्या बारम्बार दोहोरी रहेको हो र पाइरेसी गर्नेलाई भेटर पनि कडा भन्दा कडा कारवाही गर्न नसक्नु अर्को कमजोरी हो । सरकारी पक्षबाटै चलचित्र क्षेत्रलाई त्यति धेरै महत्व नदिएको देखिन्छ । जसले गर्दा पाइरेसी गर्ने काम दिनप्रतिदिन बढिरहेको छ । यस्तो गम्भिर विषयमा सरकारी पक्ष, चलचित्र सम्बन्धि संघ संस्था र चलचित्रकर्मी आफैले पनि यसको लागि उचित कदम चाल्नुपर्छ जस्तो लाग्छ ।
-नायिका पवित्रा आचार्य

पाइरेसी हुने भने कै हिट फिल्मको हो । हाम्रो फिल्म झोला पनि पाइरेसी भयो । प्रहरी प्रशासनले पनि राम्रो अनुसन्धान गरेन कि के भो अपराधी पत्ता लगाउन सकेन । त्यसपछि अहिले प्राय सबै हिट फिल्मको पाइरेसी भैरहेको छ । पाइरेसी गर्ने गिरोह हामीले चिने जानेकै पनि हुन सक्छ । हाम्रै चलचित्र क्षेत्रको पनि हुन सक्छ । त्यसैले हामी सबै चलचित्रकर्मीहरु मिलेर राज्यको सबै अंगको सहयोग लिएर अपराधी पत्ता लगाई पीडितलाई क्षतिपूर्ति सहित कडा भन्दा कडा सजायको व्यवस्था हुनुपर्छ । नत्र पाइरेसी कै कारण समग्र चलचित्र उद्योगले नै ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।
-नायक राज तिमल्सिना

मलाई यो कुराले दुःख लाग्छ । जब एउटा फिल्म बनाउन लाखौ रुपैयाँ खर्च हुन्छ यहाँ १५/२० रुपैयाँमा बिक्रि हुन्छ । चलचित्र विकास बोर्ड निर्माता संघ सबै संघ संस्था र सरकारको तर्फबाट यो पाइरेसी रोक्नु पर्छ । जसरी हुन्छ यसको गिरोहीलाई समातेर कडा कारवाही गर्नुपर्छ ताकी पछि यस्तो दुस्साहास गर्ने हिम्मत कसैले नगरुन् ।
-निर्देशक रमेश बोगटी

पाइरेसी सम्बन्धि व्यापक रुपमा जन चेतना जगाउनु नै यसको मुख्य रोकथामको उपाय हो ।
-निर्देशक भोजबहादुर गुरुङ

हरेक हल हलमा कडाइ गरिनुपर्यो ।
-कलाकार विपना बस्नेत

पहिलो कुरा रिस गर्नेहरु धेरैभएर हो अनि धेरै जना प्रोडुसर हुँदा पनि यस्तो हुन्छ । सबै प्रोडुसरबीच कुरा नमिल्दा, डिरेक्टरसँग प्रोडुसरको झगडा पर्दा पनि पाइरेसी बढी रहेको छ । रिस गरेर त्यसलाई कमाउन किन दिने भन्ने पनि छ । सिस्टम अझै राम्रो ल्याउन नसकेर यस्तो घटना सुन्नु परेको हो । कारवाही गर्नुपर्छ बौद्धिक सिर्जना चोरी गर्नेलाई ।
-मोडल रञ्जन रिजाल

यसको लागि कलाकार, निर्माता, प्राविधिक तथा सम्बन्धित सँग संघ संस्थाहरु एक भएर नेपालको ७५ जिल्ला मै संयन्त्र बनाउदै पाइरेसी विरुद्ध संघर्ष गर्नुपर्छ । तर यहाँ त्यस्तो हुँदैन त्यो पनि थाहा छ सब स्वार्थको लागि अनि आफ्नो बायोडाटाका लागि लडेको छन् । न कि नेपाली इन्ड्रष्टिको लागि । बिडम्बना….
-निर्माता सुशील पोखरेल

साइबर ल कडा गर्नु पर्छ । पोष्ट प्रोडक्शन गर्दा र सानो हलहरुमा फाइल लिदा दिदा एकदम ध्यान पुर्याउनु पर्छ । पाइरेसी गरेको पाएमा जरिवाना हैन कैद नै हुने व्यवस्था गर्नुपर्छ । कसले पाइरेसी गर्यो भनेर थाहा पाउने सिस्टमको निर्माण गरिनुपर्छ । कसले कुन वेभसाइटमा अपलोड गर्यो कुन कम्प्युटरबाट थाहा पाउन अहिलेको समयमा गाह्रो छैन ।
-नायक आमेश भण्डारी

यो नै पहिलो घटना हैन । धेरै वर्ष अगाडिबाट चलचित्र क्षेत्र ग्रसित भएको छ । चलचित्र विकास बोर्डले चार पाँच जनाको टोली बनाएर पाइरेसी नियन्त्रण अभियान थाल्नुपर्यो । पाइरेसी गर्नेलाई भेटेर कडा भन्दा कडा सजाय दिनुपर्यो । ताकी पाइरेसीको नाम पनि लिन नसकोस । यो डिजिटलको दुरुपयोग हो । यो अभियानमा हामी सबैले साथ दिनु पर्छ ।
-निर्देशक बसन्त निरौला

बलियो कानुन बनाएर त्यसको कार्यान्वयन गर्नु पर्यो। बौद्धिक सिर्जना चोरी गर्ने व्यक्ति वा कम्पनीलाई जेल अनि ठूलो धनराशी जरिवाना गर्नुपर्छ ।
-हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुव्रे’

कानुन हुनुपर्यो । र कानुन तोड्नेहरुलाई एकदमै कडा भन्दा कडा सजाय हुनुपर्यो । यसका लागि सम्बन्धित संघसंस्था लागि पर्नुपर्यो ।
-कलाकार गणेश उप्रेती

हलवाला र पाइरेसी गर्ने बीचको मिलेमतोले हुन्छ पाइरेसी । त्यसैले कडा भन्दा कडा सजायको व्यवस्था गर्नुपर्ला ।
-निर्देशक मुनाल घिमिरे

कडा कानुन बनाउनु पर्यो । जसले गर्दा मान्छेलाई गल्ती गर्दा हरपल सोच्नु परोस् । र त्यस्तो सिस्टम बनोस् जुन फिल्म हलमा या जहाँ लगेनी कपी गर्न नमिलोस् । आज बनेको छ त कडा कानुन तर के गर्नु कानुन भए पनि लागु हुन्न ।
-गायक/नायक बाबु बोगटी

विकास बोर्डले कदम चाल्नुपर्छ ।
-निर्माता सुनिल रावल

पहिलो कुरा त फिल्मका निर्माता निर्देशक नै यो कुरामा गम्भिर देखिदैनन् । किनकि फिल्म सेन्सर गर्न लैजानु अगाडि वा अन्त कतै लगेर सार्नु अगाडि वा घरमै लगेर फाइनल फाइल हेर्छु भनेर कतिले साइबरमा गएर कपि गर्ने गर्छन् । पाइरेसी गर्ने व्यक्ति थाहा हुँदा पनि कुनै कारवाही नहुँदा यस्ता कार्य मौलाइरहेका छन् । सजायका भागेदारलाई छोड्नु हुन्न ।
-संगीतकार अर्जुन पोखरेल

पहिलो त सबै फिल्म मेकर नै सचेत हुनुपर्छ । पाइरेसी हुने भनेको हल, सेन्सर कपि अनि आभरसिजमा दिने फिल्मको डिभिडि या कुनै फाइल नै हो । फिल्मको कपि कुन ठाउँमा कसरी दिने भन्ने मेकरले बुझ्नु पर्यो । फिल्म पाइरेसी गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो । चलचित्र सम्बन्धि खोलिएका संघ संस्थाहरुले बजार अनुगमन गर्नुपर्यो । साइबर अनि सिडि पसलबाट नी फिल्मको प्रिन्ट बनाएर बेच्ने गर्छन् त्यस्तोलाई कडा सजाय दिनुपर्यो । प्रचलित कानुन अनुसार पाइरेसी गर्नेलाई कडा भन्दा कडा कारवाहीको लागि चलचित्र सम्बन्धि खोलिएका संघ सस्थाले आवाज उठानु पर्यो ।
-निर्देशक दीपक ओली


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
नेपाल सरकारले सिने नगरीमा आवद्ध विभिन्न व्यक्तिलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको तपाईलाई कस्तो लाग्यो ?