बृद्धाश्रममा राजेशको जन्मदिन


Filmy Kura, Jun 9, 2016 at 1:32 pm

rajesh hamal birthdayमहानायक राजेश हमालले आफ्नो ५२ औँ जन्मदिन चितवनमा रहेको एक बृद्धाश्रममा केक काटेर मनाएका छन् । बृद्धबृद्धालाई केक तथा खाना खुवाएर जन्मदिन मनाउन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

नेपाली सिने नगरीमा २६ वर्ष बिताएका हमाल अझै सक्रिय रुपले लागिरहेका छन् यो क्षेत्रमा । जन्मदिन कै अवसरमा यस अघिका सोज समेत उनले होस्ट गर्दै आएको कार्यक्रम ‘सिएमसी क्विज मेनिया’ को पाँचौ संस्करण बिहीबार देखि नै प्रारम्भ भएको जानकारी गराइएको थियो ।

राजेश हमालको पृष्ठभूमि
पाल्पाको तानसेनमा १९६४ जून ९ तारिखमा जन्मिएका महानायक राजेश हमालका बारेमा जति नै कुरा बोलिए पनि सुनिए पनि उनको भित्री कुरा भने बेग्लै छ । हिजोका एक्ला राजेश हमालले आजको चर्चित र लोकप्रिय नायकको पहिचा प्राप्तिका लागि अनेकन संघर्षका उकाली–ओरालीहरु अनि भित्र भित्रै दुखाउने व्यथाका अनगिन्ती शृङ्खलाहरुलाई पार गर्नु परेको थियो ।

यो त्यतिबेलाको कुरा हो जतिबेला नेपाली चलचित्र क्षेत्र व्यवस्थित र स्थापित भइसकेको थिएन । चलचित्र सम्बन्धी ठोस संरचना र आवश्यक पूर्वाधार नभएको त्यो समयमा वर्षको एक–दुईवटा मात्र चलचित्र बन्थे । त्यसमाथि चलचित्र क्षेत्र र अभिनय पेसालाई मर्यादित दृष्टिकोणले पनि हेरिदैन थियो । त्यस्तो परिस्थितिमा राजदूतजस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेका कूटनीतिज्ञ स्व. चूडाबहादुर हमालका छोरा राजेश हमालले सोखका लागि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

भारतको चण्डीगढस्थित पन्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेका राजेश हमालको सिनेमा प्रवेशको कदमलाई परिवारले सहज रुपमा लिन सकेको थिएन । पन्जाब विश्वविद्यालयमै अध्ययन गर्दा नाट्यशास्त्रप्रति उनको अत्यन्तै रुचि बढेको थियो तर परिवारको स्वीकृति नहुँदा आफ्नो रुचिलाई थाती राख्नुप¥यो । यद्यपि हमालले दिल्लीमा पत्रिकाका लागि व्यावसायिक फोटो मोडलिङ गर्नुका साथै विभिन्न फेसन शो मा पनि भाग लिइसकेका थिए ।

हमाल पहिलो पटक अनुबन्धित भएको चलचित्र ‘भाग्यरेखा’ को केही दृश्य छायांकन भएपनि उनी र उनी सँगैको को–स्टार कृष्टि केसीलाई निर्देशक दीपक रायमाझीले रद्द गरिदिए । त्यसको केही वर्षपछि दीपक रायमाझीकै फिल्म ‘युग देखि युग सम्म’ मार्फत पर्दामा पुनः प्रवेश गरेका राजेश हमालले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । त्यतिबेला देखि नै नेपाली सिनेमाको बजार राजेशमय भएको छ । आज पनि सो परिस्थिति विद्यमान नै रहेको छ । अरु नायकलाई हेर्ने नजर र राजेशलाई हेर्ने नजरमा समेत धेरै फरक छ ।

यसरी २०४८ साल भदौ ९ गते प्रथम प्रदर्शन भएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट सुरु भएको हमालको अभिनय यात्राभित्र हालसम्म हमालले कसम, गोपीकृष्ण, देउकी, देउता, शंकर, अपराध, अधिकार, चट्याङ, परिभाषा, पृथ्वी, प्रतिज्ञा, छोरी बुहारी, सिमाना, अल्लारे, अवतार लगायत दर्जनौ सिनेमा खेलेका छन् । यो यात्रा पछिल्लो समय उनले फिल्मी करियर कै पहिलो पटक स्त्रिको भूमिकामा रहेको ‘सकुन्तला’ फिल्म सम्म तय गरिसकेका छन् । उनको जीवनको अध्ययनकाल नेपाल, तत्कालीन सोभियत संघ र भारतमा बितेको थियो । नेपालमा भने बाल्यकाल मात्रै बिताएका राजेश हमाल पश्चिमी संस्कृति सम्ग प्रत्यक्ष परिचित छन् ।

Most Promising New Comer 1991, Most Popular Artist of the Year 1993, Rastriya Yuva Samman 1995, Artist of the Decade 2000 लगायतका सम्मानबाट सम्मानित भइसकेका राजेश हमाल समाजको विकास र उन्नतिका लागि व्यावसायिक क्षेत्रबाट यथेष्ट मात्रामा चलचित्र निर्माण नभएको बताउछन् । हमालले भारतको नयाँदिल्लीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र सेन्ट पिटरवर्ग यूएसएसआरमा आयोजना गरिएको राष्ट्रिय चलचित्र महोत्सवमा नेपालका तर्फबाट सफल अन्तर्राष्ट्रिय प्रतिनिधित्व गरिसकेका छन् ।

हमालले खेलेका कुनै पनि चलचित्र नै नहेरी उनको बुबा बितेका थिए । बुबासँग थुप्रै कुरा गर्नु थियो हमाललाई । धेरै कुराको समझदारीमा पुग्न त झनै बाँकी थियो । दिदीबहिनी र भाइको सामीप्यता सँगै खाने, सँगै बस्ने गर्दाको त्यो पारिवारिक माहोल मीठो सम्झना भएर बसेको छ राजेशको स्मृतिमा । कार्यक्रम कै सिलसिलामा राजेशले थुप्रै विदेशी भूमि नियाल्ने समेत अवसर पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)