‘मेरो स्वास्थ्य डाक्टरको नियन्त्रणमा छ, मृत्युपछि असल व्यक्तिको रुपमा चिनिन पाऊ’ – बरिष्ठ कलाकार नीर शाह


Filmy Kura, Jul 7, 2016 at 5:29 pm

बरिष्ठ चलचित्रकर्मी नीर शाह नेपाली फिल्मको ज्ञाता हुनुहुन्छ । फिल्म लेखन, निर्देशन, निर्माण तथा कुशल अभिनय क्षमताकै कारण सधै शिखर व्यक्तिका रुपमा चिनिनु भएका नीर शाह ‘x–पार्क’ नामक फिल्म बनाउने तयारीमा हुनुहुन्छ । प्रस्तुत छ यही सरोफेरोमा उहाँ सँग गरिएको कुराकानीको संपादित अंश । 

nir-shaha-filmykura

सुरुमा स्वास्थ्यबाट नै जानुपर्छ आराम कुशल के छ ?
स्वास्थ्य डाक्टरहरुको नियन्त्रणमा छ । मेरो नियन्त्रण भन्दा बाहिर गएको छ मेरो स्वास्थ्य । उहाँहरुले विभिन्न औषधिहरु मार्फत मेरो ब्लड प्रेसर र हार्ट मूभमेन्टलाई सके जति नियन्त्रणमा राख्ने प्रयत्नमा लाग्नुभएको छ विगत दुई वर्ष देखि नै । भन्नाले एउटा स्वतन्त्र जीवन बाँच्दिन म आजकाल । पेशागत मर्यादाका क्रममा देखा पर्ने विभिन्न उतारचढावका कारणले गर्दा खेरी सायद मैले गर्न नहुने एउटा काम गरे जिन्दगीमा । म यही फिल्मीकुरा मार्फत सादर अनुरोध गर्न चाहान्छु । तपाई कसैले यदि धुम्रपान गर्नुभएको छ भने तत्कालै छोड्नुहोला । युवामा पनि नखान आह्वान गर्दछु । मेरो स्वास्थ्य खराब हुनुमा प्रमुख कारण धुम्रपान नै हो ।

नेपाली फिल्म क्षेत्रमा कोसेढुंगा मानिने ‘बासुदेव’ देखि ‘सेतो बाघ सम्म’ आइपुग्दा के कस्ता परिवर्तन महसुस गर्नुभयो ?
समय सँग परिवर्तनका ढोकाहरु हर समय खुला रहन्छन् । यस्ता समय तपाई सँग हुँदै हुँदैनन् जुन समय परिवर्तनका ढोकाहरु बन्द होउन । परिवर्तनको समय सर्वाधिक रुपमा बन्द गरिएको छ भनेर मानिसहरुले एउटा वैचारिक दृष्टिकोण खडा गरिरहेको अवस्थामा पनि परिवर्तनका ढोकाहरु खुल्ला नै रहन्छन् । पन्चायतको राजनीति छँदा त्यस्ता थुप्रै ढोकाहरु बन्द छन् भन्ने भ्रममा त्यसका प्रशासकहरु त्यसका शासकहरु रहने गर्नुहुन्थ्यो तर वास्तवमा ती ढोकाहरु बन्द थिएनन् । जताततै खुल्ला थिए । त्यहि कारण पनि हामीले अर्को एउटा युगमा प्रवेश गर्ने सौभाग्य प्राप्त गरेका हौ । चलचित्र क्षेत्रमा पनि प्रशस्त मात्रामा परिवर्तन आएका छन् । ती परिवर्तनलाई बारम्बार तपाई हामीले केलाएर हेर्ने गरेका छौ पनि । किन भन्नुहोला भन्देखिन परिवर्तनहरु सकारात्मक पक्षहरु मात्र बोकेर आएका हुँदैनन् । नकारात्मक परिवर्तनमा सेचत रहदै जति सक्दो त्यसलाई कम गर्दै लैजानु पर्दछ । सकारात्मक पक्षका परिवर्तनलाई स्थायित्व दिन खोज्नु हाम्रो पहिलो दायित्व हो । त्यहि दायित्व पूरा गर्ने क्रममा मैले आफूलाई क्रियाशिल राख्ने गरेको छु ।

हाल आएर तपाई जस्ता अग्रज चलचित्रकर्मीलाई नेपाल सरकारले वितरण गरेको परिचयपत्र पनि एउटा परिवर्तनको नमूना हो ?
यो साधरण कुरा हो । जति चर्चामा यसलाई ल्याईयो त्यो हद सम्म ल्याउनु आवश्यक म चाहि देख्दिन । सरकारले तिमी चलचित्रकर्मी हौ भनेर आइडेन्टी फाई गरेको हो । ति सम्पूर्ण चलचिकर्मी यसको हकदार हुनुहुन्छ । यो वर्गिकरणको विषय जुन छ त्यसलाई अघि नसार्दा पनि फरक चाहि केही पनि पर्दैन । एक किसिमको वर्गिकरण त प्रत्येक संघ संस्थाले आ–आफ्नो हिसाबले गरिरहेकै छन् । सदस्यता लिदा खेरि नै एउटा वर्गिकरणको प्रक्रियाबाट अघि बढ्नु पर्ने हुन्छ । पहिला सह–सदस्य, त्यसपछि पूर्ण सदस्य, त्यसपछि वरिष्ठ सदस्य भइन्छ यस्तो परिपाटी धेरै पहिले देखि विभिन्न संघ संस्थाले आफ्नो प्रयोजनका लागि उपभोग गर्दै आइरहेका छन् । नेपाल सरकारले यसलाई तीन वटा भागमा बाडेको रहेछ । केही चलचित्रकर्मीलाई विशिष्ट श्रेणी, केहीलाई बरिष्ठ श्रेणी दिइएको रहेछ भने केहीलाई चलचित्रकर्मी मात्र भनिएको छ । चलचित्रकर्मीको श्रेणीमा पर्नेहरुको संख्या बढी हुनु स्वाभाविक नै हो । असन्तुलित रुपमा यसको संख्या रहने भएको कारणले गर्दा खेरि यसले एक किसिमको विवाद जन्माउला तसर्थ यो श्रेणीको कुरामा चाहि हामी जादै नजाउ भन्ने पनि सोचाई आएकै हो तर योग्य व्यक्ति बसेर परिभाषा निर्धारण गर्नुभएको छ ।

कार्ड प्राप्त गरे सँगै राज्यतहबाट तपाईले के कस्तो सेवा सुविधाको आशा राख्नुभएको छ ?
अरु चलचित्रकर्मीले के राखेका छन् त्यो त मलाई थाहा छैन । तर मैले चाहि केही पनि आशा राखेको छैन । मलाई यो कार्ड प्राप्त गर्दा वृहत रुपमा कुनै खुसियाली पनि छाएन अथवा प्राप्त नगरेको भए म अत्यन्त दुःखी पनि हुन्न थिए । किन भन्नु होला भन्दा खेरि मेरो प्रत्यक्ष नाता दर्शकहरु सँगको हो । उहाँहरुले न्यानो माया, साथ र हौसला पाइला पाइलामा दिनु भएको छ । त्यो नै हामी जस्ता चलचित्रकर्मीले जीवनमा कमाएको ठूलो प्राप्ति हो । त्यो नै सबैभन्दा दुर्लभ प्राप्ति पनि हो ।

चरित्र अभिनय गरेर पर्दामा त हिरो बन्नु भो लाइफको चाहि तपाई रियल हिरो आफूलाई कतिको ठान्नुहुन्छ ?
लाइफमा हिरो बन्नका लागि त कुनै पनि मान्छेलाई एउटा लाइफ पर्याप्त हुदै हुदैन । तर एउटै लाइफमा हिरोइज्मको धेरै नजिक पुग्ने केही पात्रहरु हाम्रो इतिहासमा छन् । तिनले पनि अर्को जूनि पाउन सकेको भए त्यो सफलताको श्रृंखलालाई डबल गर्थे होला तर त्यो सम्भव भएन । सानु कुराले पनि तपाईलाई पर्याप्त मात्रामा सन्तुष्टि दिन्छ । सन्तुष्टि जीवनको सबैभन्दा ठूलो प्राप्ति हो । र त्यो प्राप्ति नै जीवनमा पाइने सबैभन्दा दुर्लभ प्राप्ति पनि हो । केही कुराहरुले मलाई जीवनमा सन्तुष्टि दिएको छ । त्यसैलाई सफलता मान्ने हो भने त्यो मानेमा म सफल भएको छु ।

अन्तिममा इतिहासले कसरी सम्झियोस् लागेको छ ?
कुनै जमानामा यहाँ नीर शाह नाम गरेको कलाकार पनि थियो भनेर सम्झिदा पुग्छ । र त्यो कलाकारले आफ्नो देशलाई सके जति दियो आफ्नो व्यक्तिगत स्वार्थका लागि लिने काम बाट चाहि टाढै रह्यो । यहि दृष्टान्त हामीले सके जति थुप्रै क्षेत्रहरुमा अबलम्बन गर्न सक्नु पर्छ भन्नेबारे प्वाइन्ट वान पर्सेन्ट मात्रै एउटा सचेत समूह सिर्जना गर्न सकियो भने ठाने भन्देखिन मेरो जीवनको सबैभन्दा सार्थक कुरा पनि त्यहि नै हुनेछ । मृत्यु पश्चात यी मेरो जीवन सार्थक भएछ भनेर नियाल्ने कुरा पनि यहि नै हुनेछ । मलाई पूर्वप्रधानमन्त्री मनमोहनजीले भनेको कुरा याद आयो मानिस ठूलो होइन असल हुनुपर्छ । म यहि लाइनलाई फलो गर्न चाहान्छु । मृत्य पश्चात असल व्यक्तिको रुपमा चिनिदिए पुग्छ ।

प्रस्तुति : श्यामहरि शिवभक्ति


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु