मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो


Filmy Kura, May 27, 2017 at 3:51 pm

एकसय भन्दा बढी फिल्म लेखेका तथा झण्डै दर्जन जस्तो चलचित्र निर्देशन गरेका सुरज सुब्बा नाल्बो पछिल्लो समय आफ्नै व्यानर माङहिम फिल्मस्बाट ‘रातो घर’ लिएर दर्शकमाझ आएका छन् । जेठ १९ रिलिज हुने उक्त चलचित्र ‘रातो घर’ लाई लिएर लेखक, निर्देशक तथा निर्माता नाल्बोले फिल्मीकुरा समक्ष २५ वर्ष यो क्षेत्रमा बिताएको आरोह अवरोहलाई यसरी स्मरण गरेका छन् ।


के छ ताजा खबर ?
अहिले निकै व्यस्त छु । जेठ १९ गते ‘रातो घर’ चलचित्र रिलिज हुँदैछ । यसकै प्रचार प्रसारमा हिडीरहेको छु । दर्शकको घरघरमा मिडियाको माध्यमबाट पुगिरहेको छु ।

गाउँका घर हेर्ने हो भने कमेरो लगाएकाले सेतो देखिन्छ, शहरका घर अनेका रङको देखिन्छ तपाईको फिल्मको टाइटल ‘रातो घर’ यसले कुन घरलाई इङ्कित गर्छ ?
हो, तपाईले एकदम ठिक भन्नुभयो । मैले पनि कमेरो र रातो माटोले लिपेको घर धेरै देखेको छु । पहिला पहिला गाउँघरमा थानालाई रातो घरको रुपमा लिने गरिन्थ्यो । त्यतिबेलाका बाउ बाजेले रातो घरलाई जेल वा थाना भनेर चिन्थे । समग्रमा रातो घर भनेको कारवाही हुने ठाउँ हो भनेर बुझ्दा राम्रो हुन्छ ।

फिल्मको लेखन निर्देशन मात्र नभई यो पटक लगानीको भार पनि उठाउनु भयो, किन ?
म यो फिल्डमा लागेको २५ वर्ष भयो । धरानबाट २ सय ५० रुपैयाँ बोकेर काठमाडौं आएको थिए । यति रकम लिएर आएको सुरज सुब्बा आज ‘रातो घर’ बनाउन सक्षम भयो । यसकारण सक्षम भयो कि मैले लेखेका चलचित्रहरु मैले निर्देशन गरेको चलचित्रहरु दर्शकहरुले मन पराइ दिनु भयो । बारम्बार भन्ने गर्छु कि दर्शक मेरा लागि भगवान हुन् । र मैले चलचित्र निर्माण गर्नुपर्ने मुख्य कारण चाहि के हो भने म सिनेमा बाहेक अर्को केही पनि गर्न जान्दिन । २५ वर्ष त यहि क्षेत्रमा बिताए । मेरो पछि अब अर्को पुस्ता आउनुपर्छ । अर्को पुस्ता आउनु भनेको यो क्षेत्रका लागि विकास हो । भन्ने नै हो भने सधैभरि म निर्देशन गरिरहन मात्र नसकुला । मेरो परिवार पनि फिल्म सँग जोडिएका छन् । नयाँ नयाँ प्रतिभा भएका भाइबहिनीलाई प्लेटफर्म दिनका लागि पनि मैले आफ्नै कम्पनी खोलेर निर्माणमा होमिएको हुँ । जस्तो कि मेरो छोरा अहिले मलाई निर्देशनमा एसिस्ट गर्छ । पछि उसलाई पनि ब्रेक दिन सकियो । मेरो जस्तै अन्य छोरालाई भोलिका दिनमा अवसर दिनका लागि माङहिम फिल्मस्को स्थापना गरेको छु ।

भनेपछि नयाँले अरुको ढोका सम्म धाउनु नपरोस् भन्ने यहाँको चाहना ?
पक्कै पनि । मैले २५ वर्षको अवधिमा धेरैको घरको ढोका ढक्ढक्याउनु प¥यो । जतिबेला म सँग उहाँहरुको घरको ढोका सम्म पुग्ने गाडी भाडा समेत हुदैनथ्यो । त्यतिबेला १ रुपैयाँ १५ पैसा जति भाडा पर्न आउथ्यो । दुई घण्टा लामो बाटो म हिडेर जान्थे मेरो कथा सुनाउनका लागि । त्यतिबेला नयाँ हुँदाको पीडा, संघर्ष गर्दाको पीडा मैले भोगेको छु । त्यसैले पनि मैले बनाएको कुनै न कुनै फिल्ममा नयाँ कलाकारलाई स्थान दिएकै हुन्छु । त्यो आधारमा पनि नयाँ सोच, नयाँ जोश र नयाँ जाँगर लिएर आएका नवप्रतिभा निरुत्साहित नहुन् भनेर कम्पनी खोलेको हुँ । म सँगै आएका धेरै सक्षम अनि प्रतिभावान व्यक्ति प्लेटफर्म नपाएरै पलायन हुनु प¥यो । किन पलायन भए त भन्दा उनीहरुले अवसर पाएनन् ।


त्यसो भए एकचोटी धरान तर्फ फर्कौ, मात्र २५० रुपैयाँको संघर्षले आज यो स्थानमा तपाईलाई ल्याएको हो ?
म विवाह गरेर अलग्गै बसेको थिए । मेरो श्रीमती स्कुलमा पढाउथिन् । म फेरि धरानको एकदमै लाउरे परिवारको सन्तान पनि होइन । सामान्य परिवारको मान्छे थिए म । घरको म जेठो सन्तान । घरबाट बुबा ममिले पैसा पठाउन नसकेपनि जेठा छोरा भएको हिसाबले घरतिर पैसा चाहियो पनि कहिल्यै भन्नुभएन । यो नै मेरो लागि ठूलो लगानी थियो । संघर्ष गर्नेका लागि १ गते कहिले नआओस् जस्तो लाग्थ्यो । किनकि १ गते भनेपछि रासनको पैसा, डेराको भाडा तिर्नु पर्दथ्यो । मध्यम वर्गिय हामी सबै १ गतेबाट पीडित छौ । म २५० रुपैयाँ लिएर काठमाडौं आउँदा मात्र २१ वर्षको थिए । मेरो दिमागमा त्यतिबेला सपना बाहेक अरु केही पनि थिएन । मैले त्यो सपना खुल्ला आखाले देखेको थिए । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सव हुने गथ्र्यो । २०४७ साल तिरको कुरा हो यो । निर्देशक नारायण पुरी मेरो एकदमै मिल्ने मित्र हुनुहुन्थ्यो । धरान हुँदा नारायणले मलाई यता आउ त्यहा बसेर केही हुन्न भनेको थियो । तर जब म काठमाडौं आए उसले मलाई खासै केही गरेन । तर उसले त्यहाँ बसेर केही हुन्न काठमाडौं आउ भनेको शब्दले नै मलाई धेरै मनोबल दियो । भन्छन् नि यो दल दलमा फसेको मान्छेलाई परालको त्यान्द्रोले पनि बाँच्ने ठूलो आश हुन्छ । र त्यो संघर्ष गर्दाको दिनमा नारायण भनेको मेरो लागि परालको त्यान्द्रो भयो । जसले चाहि मलाई अगाडि बढ्नुपर्छ भन्ने हिम्मत दियो । यहाँ आएपछि बस्नुप¥यो खानुप¥यो । बागबजारमा सनराइज गेष्ट हाउस भन्ने थियो । र त्यतिबेला मैले गेष्ट हाउसको साहुजीलाई स्पष्ट भनेकि म सँग पैसा छैन । म तपाईकोमा बस्छु । र जून दिन कमाउछु त्यो दिन तिर्छु । म दुई वर्ष बसे त्यो होटलमा एक रुपैयाँ पनि पैसा नतिरी । त्यतिबेला नारायण पुरीले मलाई कति निर्माता निर्देशक सँग भेट गराए । त्यो नै मेरा लागि नारायणले गरेको सबैभन्दा ठूलो गुण थियो । जून गुण चाहि मैले ‘सायद’ मा उसको छोरा संयम पुरीलाई खेलाएर तिरे जस्तो लाग्छ ।


कथाले मागेर संयमलाई लिनु भएको थियो या केवल गुण तिर्नका लागि ?
मलाई यस्तो खालको एउटा क्यारेक्टर चाहिएको छ भनेर नारायणलाई सुनाउदा उसले तिम्रो भतिज छ त भनेर भन्यो । मैले संयमलाई त्यो भन्दा पहिला भेटेको थिइन । संयमको फोटो हेरेपछि मैले हुन्छ पठाइदिनु भने । उ आयो मैले हेरे । र मैले खोजेको क्यारेक्टरमा एकदमै सुट पनि भयो । संयमको करिअरको सबैभन्दा सफल चलचित्रमध्येको एक ‘सायद’ पनि हो । यति गरेपछि नारायणको गुण तिरे जस्तो पनि भयो । र मैले राम्रो कलाकार राखे जस्तो पनि लाग्यो ।

नारायण कै कारणले थुप्रै निर्माता निर्देशकलाई त भेट्नुभयो । आफूले लेखेको पहिलो फिल्मलाई चाहि कसरी स्मरण गर्नुहुन्छ ?
धेरैको घरमा पुगियो । कतिले भोलि कथा सुन्छु तिम्रो भन्दा रातभरि म सुतिन । कथा यसरी सुनाउनु पर्छ भनेर । मैले जब उनीहरुको घरमा पुगेर कथा सुनाउथे । प्रायको एउटै जवाफ हुन्थ्यो । तिम्रो कथा त राम्रो छ तर ५ लाख रुपैयाँ हाल्ने मान्छे खोज भन्थे । जो मान्छेको गोजिमा ५ रुपैयाँ हुदैनथ्यो उसले ५ लाख हाल्ने मान्छे कसरी खोज्ने ? हिजो मलाई त्यस्तो भन्ने मान्छेहरु आज कहाँ छन् इन्ड्रष्टिजमा खोज्नुपर्छ । कतिले आज एग्रिमेन्ट गरौला भोलि एग्रिमेन्ट गरौला भन्दै झुलाइ राखे । मेरो आश मर्दै गयो । त्यसैले म भन्छु मान्छेलाई आश कहिल्यै पनि देखाउनु हुँदैन । सिनेमा गर्ने सिलसिलामा यति धेरै दुःख झेले मैले कि अहिले बताउदा मन चसक्क दुख्छ । मैले पहिलो पटक लेखेको चलचित्र ‘बिषालु’ भन्ने हो । ईश्वर थापा प्रति कृतज्ञ छु । उहाँले मलाई ब्रेक दिनुभयो । र यहि फिल्म गर्दाको एउटा घटना जून म बिर्सन कहिल्यै सक्दिन । यहि घटनालाई मैले मनमा लिएर सदैव काम गरेको छु । त्यो कुरा सेयर गर्न चाहान्छु । मैले लेखेको फिल्मको गाना रेकर्ड भइरहेको थियो । म जाबो एउटा सामान्य लेखक । फेरि त्यतिबेला लेखकलाई अलिकति पनि इज्जत गरिदैन थियो । साँझ खाजा खाने कुरा भयो । प्रोडुसरले रक्सी लिएर आयो । म टेबलको एका कुनामा थिए । अनि त्यहाँ एकजना संगीतकार आउनु भयो । उहाँले मलाई देखाउदै प्रोडुसरलाई भन्नुभयो, ‘यो भाईलाई यहाँ किन ल्याउनुभको ? हाम्रो लेभल मिल्दैन । यसलाई बाहिर पठाऊ ।’ प्रोडुसरले त संगीतकारको कुरा मान्नै प¥यो । मैले अनि हातमा गिलास लिएर निस्कदै गर्दा उहाँलाई भने, ‘आज तपाईलाई म सँग बसेर खान असहज अप्ठेरो भयो होला । तर भोलिको दिन तपाई सँग टेबलमा बसेर खान योग्य हुन्छु म ।’ अनि म बाहिर गए । पछि उहाँ आएर भाई अघि मैले के–के भने सरी भनेर भन्नुभयो । पछि मैले फिल्म क्षेत्रमा एउटा स्थान बनाइ सकेपछि उहाँले सँगै काम गर्छु पनि भन्नुभयो । र सबैलाई जानकारी गराउ कि उहाँ संगीतकार शम्भुजित बाँस्कोटा हुनुहुन्थ्यो । सायद शम्भुजितले त्यतिबेला यो भाईसँग लेभल मिल्दैन नभनेको हुन्थ्यो भने म सायद आज यहाँ हुन्न थिए पनि होला । त्यतिबेला मलाई एकदमै इख भयो । त्यो कुराले मलाई कमजोर बनाएन बरु झन बलियो बनायो । मन हो आखिर त्यसो भनेपछि कसको दुख्दैन र ? त्यस्तो गल्ती कसैले पनि गर्नु हुँदैन । र त्यस्ता अहम राख्ने मान्छे त यो क्षत्रबाट आफै पाखा लागिरहेका छन् । हिजोका लागि उहाँ एकदमै पिकअप लिएको मान्छे आज खै त ? विगतमा कालजयी गीत दिएपनि शम्भुजित बाँस्कोटा असल मान्छे चाहि होइनन् भन्ने सबैले जानिसके । सायद असल मान्छे बन्न सकेको भए हिजोको जस्तै व्यस्त जीवन अहिले पनि बिताइरहेको हुनुहुन्थ्यो होला ।

अब भनिदिनुस् ‘रातो घर’ चल्ने आधार के–के हुन् ?
यो एकदमै पियोर नेपाली चलचित्र हो । हाम्रै समाजमा घट्ने घटनालाई मैले फिल्ममा उठाएको छु । खासगरी फिल्ममा अहिलेका युवापुस्ताका चल्तीका कलाकारले अभिनय गरेका छन् । विल्सन विक्रम राई ‘तक्मे बुढा’ आफैमा राम्रो कलाकार हुनुहुन्छ । पछिल्लो समय ‘साइली’ भिडियोमा सबैको ध्यान तानेका गौरव पहारीको यसमा अभिनय छ । अझ भनौ साइला साइली दुवै छन् । मेनुका प्रधान अनि संयम पुरी राम्रो अभिनय क्षमता भएका कलाकार हुन् । समग्रमा भन्नुपर्दा फिल्मको कथावस्तु नै दर्शकलाई दुई घण्टा हलमा बाधेर राख्ने खालको छ । यस अर्थ मैले २५ वर्ष सिनेमा क्षेत्रमा लगाएको लगानीको केही अंश मेकरको रुपमा खर्चिएको छु । म सँगै विल्सन र निकेश लिम्बुको लगानी चलचित्रमा रहेको छ । आशा छ सबै दर्शकबाट मैले विगतको जस्तै माया र साथ पाउछु भन्ने ।

अन्त्यमा ?
फिल्मीकुरालाई धन्यवाद । जेठ १९ ‘रातो घर’ को ढोका खुल्ने दिन हो । सिनेमा घरमा आई एक्सन, कमेडी, लभ सबै कुराले मिश्रित ‘रातो घर’ हेर्दै मनलाई आनन्दित बनाउनु होला भन्न चाहान्छु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु
मूल्याङ्कन हैन मिहेनत गर्ने गर्छु : एक्सन स्टार विराज भट्ट