भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा


Filmy Kura, Aug 31, 2017 at 5:53 pm

‘दाईजो’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री झरना थापाले दुई दशकको अवधिमा झण्डै ११६ वटा फिल्म खेलेकी छिन् । नायिकाको रुपमा डिमान्ड रहदा रहदै उनले पहिलो पटक आफ्नै होम प्रोडक्शन मार्फत चलचित्र ‘ए मेरो हजुर २’ को निर्देशन गरिन् । डेव्यू निर्देशक तथा अभिनेत्री थापासँग फिल्मीकुराले गरेको संक्षिप्त कुराकानी ।।

ट्रेलर र गीत संगीतबाट कस्तो खालको प्रतिक्रिया मिलेको छ ?
मैले नसोचेको प्रतिक्रिया पाइरहेको छु । सबैबाट एकदमै माया मिलेको छ । लाइक गर्नुभएको छ कमेन्ट गर्नुभएको छ । हौसला मिलेको छ । तर फिल्मलाई चाहि कसरी लिनुहोला भनेर डर पनि मनमा पैदा भएको छ ।

वर्षौ पहिलेको हिट फिल्म ‘ए मेरो हजुर’ को टाइटल क्रेडिट लिनु भएको छ । जिम्वेवारी वा भनौ भार अलि ठूलै लिनु भयो नी, किन ?
कुनै पनि कुरा च्यालेन्जिङ छ भने काम गर्दा मज्जा आउँछ । ‘ए मेरो हजुर’ हिट फिल्म हो । स्व. शिव रेग्मी दाईले निर्देशन गर्नुभएको । स्व. श्रीकृष्ण श्रेष्ठ दाई र मेरो जोडी थियो त्यो फिल्ममा । मैले पनि राम्रो एक्टर लिएर ‘ए मेरो हजुर २’ निर्देशन गरेको छु । जहाँ सम्म मलाई लाग्छ च्यालेन्जिङ पछिको रिजल्ट राम्रै होला ।

नायिकाको रुपमा डिमान्ड हुँदा हुँदै किन निर्देशनमा लाग्नु भएको नी ?
हो, नायिकाको रुपमा मलाई लिएर फिल्म बनाउन अझै कतिपय मेकर चाहान्छन् । तर मलाई लाग्यो उमेर हुँदै आफूलाई गर्न मन लागेको कुरा गरौ । अभिनय पश्चात मलाई निर्देशन विधामा केही गरौ भन्ने थियो । राइट टाइट यहि जस्तो लाग्यो । अरुले पनि सल्लाह दिए अनि मैले निर्देशन गरेको हुँ ।

कस्तो खालको फिल्म हो त ‘ए मेरो हजुर २’ ?
यो फिल्म प्रेमकथामा आधारित चलचित्र हो । तीनवटा गीत हेरिसकेपछि धेरैले बुझिसक्नु भएको छ । यो यात्राको क्रममा हुने माया र त्यसको सेरोफेरोमा हुने रमाइला पल फिल्ममा हेर्न सकिन्छ । मित्रतालाई मैले देखाउन खोजेको छु ।

चलचित्रमा किन युथ कलाकार नै लिनुभयो ? सिनियर कलाकारसँग नी काम गर्न सकिन्थ्यो नी ?
यसमा पुराना कलाकार नलिनुको एउटै कारण हो कथाको माग । कथावस्तुले युथ कलाकार नै मागेकोले मैले अहिलेका चल्तीका कलाकार लिएको हुँ । जहाँ सम्म डेव्यू हिरो सलिनमान बाँनियाको कुरा छ उससँग केही गर्ने क्यापासिटी देखेरै मैले लिएको हुँ । र, खासगरिकन साम्राज्ञीराज्य लक्ष्मी शाहको अहिले एक खालको क्रेज छ । यता सलोन बस्नेत पनि राम्रो अभिनय गर्ने कलाकार हो । समग्रमा भन्नुपर्दा स्टोरीको डिमान्ड हो भन्नुपर्छ ।

निर्देशन गर्दाको जटिलता चाहि के हुँदो रहेछ ?
यस्तो हुँदो रहेछ, डिरेक्टर बन्न साच्चै कति गाह्रो रहेछ भन्ने कुरा मैले थाहा पाए । २० वर्ष पर्दामा मैले अभिनय गर्दा निर्देशकले गर्ने मिहेनत र परिश्रम मैले बुझेको थिए । सेड्युल मिलाउने देखि क्विक डिसिजन गर्ने देखि कुन सिन कसरी गर्ने देखि…ओ एम जी मलाई त निर्देशन गरिरहदा चाडै कपाल फूल्छ कि जस्तो पनि लाग्यो । नायिका हुँदा आफ्नो सटमा मात्र ध्यान दिनुपर्ने । अरुले छाता ओढाउथे । मलाई त निर्देशक बन्दा छाता ओढाउने मान्छे देख्दा नी ह्या आवश्यक छैन यो छाता भन्ने हुन्थ्यो । केबल सुटिङ मै फोकस भइन्थ्यो । निकै जटिल छ निर्देशन गर्न ।

सुटिङ कहाँ कहाँ गर्नुभयो ? यसो सुटिङपल सम्झनुन ।
सुटिङ चाहि काठमाडौ, पोखरा, मनाङ, तिलिचो तालमा गरियो । तिलिचो तालमा न कुनै होटेल न खानेकुरा नै । त्यहाँका स्थानीयबासीन्दाले सहयोग गर्नुभयो । चाउचाउको भरमा रात कटाइयौ । माइनस १० डिग्रीको मौसम । चिसो न चिसो । सुत्ने बेड थिएन । भुइँमै ओछ्यान लगाएर के कलाकार के प्राविधिक एकै ठाउँमा सुत्यौ । मेलमिलाप बढ्यो । यादगर पल रह्यो जे होस् ।

भोलि कसैको ज्यान गएको भए तपाई फस्नुहुन्थ्यो । त्यो जोखिम किन लिनुभयो ?
मैले सोचे भर्जिन लोकेशन होस् । हाम्रो नेपालमा पनि यति राम्रा राम्रा ठाउँ छन् ति ठाउँको प्रमोट गर्नु पर्छ लाग्यो । हुन त ‘ए मेरो हजुर’ को सुटिङमा पनि श्री दाई र म पहिलो चोटी जोमसोम पुगेर सुटिङ गरेका थियौ । अहिलेपनि मैले सोचेथे केही नयाँ देखाउनै पर्छ । आफ्नै देशको पर्यटकिय विकासका लागि मैले जोखिम मोलेको हो । नेपालको स्वर्ग देखिने ठाउँ मैले देखाउनु थियो ।

निर्देशन बापतको पारिश्रमिक पाउनु भएको छैन रे खास कुरा के हो ?
यो आफ्नै होम प्रोडक्शनमा तयार फिल्म हो । ठिक भन्नुभयो मैले निर्देशन गरेको पारिश्रमिक लिएको छैन । निर्माता सुनिल कुमार थापा (श्रीमान) र मेरो कहिले तेरो कमाइ यति मेरो कमाइ यति भन्ने कुरा भएन । मैले आज सम्म खेलेको फिल्मबाट जति पाउथे त्यो ल्याएर डोएरमा राख्थे । उहाँले कहिले यति ल्याइस नि भन्नुभएन मैले पनि उहाँ सँग पैसाको नाता नै राखिन ।

आफू अभिनित पहिलो फिल्मलाई कसरी स्मरण गर्नुहुन्छ ?
म अभिनित पहिलो फिल्म ‘दाईजो’ हो । क्यारेक्टर आर्टिस्टको रुपमा खेलेको थिए । मलाई त्यतिबेला केहीपनि थाहा थिएन । अभिनय के हो कसरी गर्ने । म कलेजमा डान्स सब्जेट लिएर पढिरहेको थिए । अहिले त्यो फिल्म हेर्दा आफैलाई कस्तो नराम्री लाग्छ । पछि पछि सिक्दै गए । मिहेनत गर्दै गए । निर्देशक शिव रेग्मी नै मेरो गुरु हुनुहुन्छ ।

झरना भन्नसाथ आम अडियन्सले चिनि हाल्ने तपाई अभिनित फिल्म कुन हो ?
जहाँ सम्म मेरो मूल्याङ्कनमा ‘ए मेरो हजुर’ नै हो । यसमा मैले आखा नदेख्ने क्यारेक्टर गरेको थिए । एकदमै रोनाधोनाको फिल्म छ । यो नै मेरो लाइभको टर्निप्वाइन्ट फिल्म हो । यो नै मेरो लाइफको लक्की मूभि हो । यहि फिल्मबाट म अवार्डमा पहिलो चोटि नोमिनेशनमा परेको थिए । त्यतिबेलाको चर्चित नायिका निरुता सिंह, जल शाह, विपना थापा नाम जुध्दा मलाई गर्व लागेको थियो ।

संख्यात्मक रुपमा कति पुगे आफूले अभिनय गरेको फिल्म ?
काउन्ट गरेको थिए । ११६ वटा पुगिसके । अब एक दुईवटा रिलिज तयारीमा छन् । प्रोष्ट प्रोडक्शनको काम भइरहेको छ ।

यो अवधिमा सिनियर कलाकार सँग काम गर्नुभयो । समकालिन देखि लिएर जुनियर सम्म काम गर्दा पर्दामा जोडी चाहि को सँग निकै जमेको जस्तो लाग्छ ?
श्रीकृष्ण दाईलाई नै लिन चाहान्छु । हाम्रो जोडीलाई धेरैले रुचाउनु भयो । दीलिप रायमाझीसँग पनि जोडी जमेकै हो । पछिल्लो पुस्तामा आएर सुमन सिंहसँग पनि काम गरे । राजेश हमाल, भुवन केसी दाई सँग नी खेल्न पाए ।

निर्देशन यात्रा नै क्रमिक रुपमा बढ्छ या के हुन्छ आगामी दिनमा ?
राम्रो रोल पाए भने फिल्मपनि खेल्छु नत्र फिल्म निर्देशनलाई नै अगाडि बढाउँछु ।

अन्तिममा के भन्नुहुन्छ ?
दुई दशक नायिका भएर मैले जति अनुभव बटुले त्यहि सिकेका कुराबाट ‘ए मेरो हजुर २’ निर्देशन गरेको छु । पहिलो प्रयास हो हेरेर मात्र कमेन्ट गरिदिनु होला । भाद्र १६ देखि लाग्दैछ । बाँकी सबै दर्शककै हातमा छोडेको छु । फिल्मीकुरालाई हृदयदेखि आभार व्यक्त गर्छु । मेरो फिल्मलाई लिएर यति राम्रो प्रश्न गरिदिनु भयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु
मूल्याङ्कन हैन मिहेनत गर्ने गर्छु : एक्सन स्टार विराज भट्ट