केदार चाहान्छन् मुर्गा फसाउने कार्यको अन्त्य, करोड बढी लगानी गर्दा पनि पाएनन् रिटर्न


Filmy Kura, Dec 6, 2016 at 3:41 pm

kedar-dhunganaनेपाली फिल्म क्षेत्रमा लगानी यति असुरक्षित बन्दै गइरहेको छ कि खै के भन्ने । यहाँ नयाँ पैसा वाल मान्छे कोही भेटिए उसलाई कसरी निर्माताको रुपमा फसाउन सकिन्छ भन्ने होड बाजी नै चलेको छ । चिया बजारमा सि ग्रेडका फिल्म बनाउने निर्देशक मुर्गाको खोजीमा हुन्छन् । हो, फिल्ममा लगानी गर्न चाहने तर आइडिया निकै कम भएका नयाँ निर्मातालाई काँचै खाने काम चलचित्रकर्मीबाट नै भएको तथ्य पछिल्ला दृष्टान्त हेर्दा थाहा पाउन सकिन्छ ।

काभ्रेको कोशीपारी जस्तो विकट क्षेत्रबाट काठमाडौं प्रवेश गरेका केदार ढुंगानाले फिल्मी क्षेत्रमा निकै हण्डर व्यहोरेका छन् । फिल्म क्षेत्रमा करोड बढी लगानी गरिसकेका उनको न नाम छ न त दाम नै । सुरुवाती दिनमा नाम कमाउने हेतुले फिल्म क्षेत्रमा हात हालेका उनी एउटा राम्रो कलाकार हुन चाहन्थे । तर उनले प्लेटफर्म नपाउँदा सुरुवात मै पैसा हालेर यो क्षेत्रमा भित्रनु प¥यो । फिल्मीकुरा सँगको विशेष संवादमा उनले मुर्गा फसाउने कार्यको अन्त्य नहुँदा सम्म फिल्मी क्षेत्रले सोचे जस्तो काँचुली फेर्न नसक्ने बताएका छन् । हाल कोटेश्वरमा सवारी साधन खरिद विक्री सेन्टर सञ्चालन गरेर बसेका केदार राम्रो मेकरका रुपमा चिनिन चाहान्छन् । उनले यो व्यवसाय सुरु गरेको पनि ९ वर्ष भइसकेको छ । उनी निर्मित तथा अभिनित पछिल्लो फिल्म ‘लाले’ले सोचे जस्तो व्यापार गर्न सकेन । फिल्म क्षेत्रमा करोड बढी लगानी गरेका उनले कुनै पनि फिल्मबाट एक रुपैयाँ समेत रिटर्न पाएका छैनन् । उनै केदारको फिल्मी आरोह अवरोहलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

पत्रिका बेच्ने देखि बसको खलासी सम्म
सामान्य परिवारका केदार ढुंगाना जन्मथलो कोशीपारीबाट एस.एल.सी उत्तीर्ण गरे सँगै काठमाडौं प्रवेश गरे । २०५३ सालको एस.एल.सी व्याच उनी सेकेण्ड डिभिजन आए सँगै उच्च शिक्षा अध्ययन गर्न भनेर काठमाडौं आएका थिए । सुरुमा पेट पाल्नकै लागि उनलाई धौ–धौ प¥यो । गाउँमा बुबा आमाले पढाउन सक्ने अवस्था नभएपछि केदार शहरमा काम गर्दै पढ्ने उद्देश्य लिएर आएका थिए । तर यो विरानो शहरमा भन्ना साथ त्यति सजिलै कहाँ काम पाइन्छ र ? उनले सुरुवाती दिनमा हात मुख जोर्नकै लागि पत्रिका बेच्ने काम गरे । करिब १ वर्ष जस्तो उनले कान्तिपुर पत्रिका बेच्दै हिडे । सातदोबाटो देखि उनी त्यहि कामका लागि भूगोल पार्क (न्यूरोड भन्दा केही माथी) सम्म आउथे । बिहानी समय सय जना मेम्बरलाई पत्रिका पु¥याएको घटना अझै ताजै छ उनको दिमागमा । त्यतिबेला पत्रिकाको तीन रुपैयाँ पथ्र्यो । एउटा पत्रिका बेचे बापत उनले ५० पैसा कमिसन पाउथे । कमिसन बेसमा काम गरेका केदारले १ वर्ष पछि यो काम छोडिदिए । बिहान पत्रिका बेच्ने केदार राति पाटन क्याम्पस पढ्नका लागि जाने गर्दथे । पढाई र कामलाई सँग सँगै लान नसकिने लागेर उनले पढाईलाई छोडिदिए । त्यसपछि उनी कामलाई नै प्राथमिकता दिएर अघि बढे । यो काम छोडेपछि उनलाई गाडी चलाउने भूत चढ्यो । त्यो समय कहाँ ड्राइभर बन्न सहज थियो र ? अहिलेको जस्तो ड्राइभिङ प्रशिक्षण दिइने संस्थाको त कल्पना पनि गर्न सकिदैन थियो । आफ्नो ड्राइभर हुने इच्छा पूरा गर्न उनी चाबाहिल गौशलाको बसमा खलासीको रुपमा आबद्ध भए । करिब एक वर्ष जस्तो खलासी भएर काम गरेपछि गाडी चलाउन हात पनि बस्दै थियो । अब खलासी मात्र भएर काम छैन भन्ने सोचेर उनले गाडी चलाउने निधो गरे । खलासी हुँदा वर्ष दिनमा उनले ८० हजार सम्म बचाएका थिए ।

ड्राइभिङ, चिरञ्जीवी र फिल्मी भूत
त्यति बेला ज्यादै कम सवारी साधन काठमाडौंको सडकमा गुढ्थे । गाडी चलाउन नागरिकता राखिने चलन थियो । २०५७ साल तिरको पल सम्झदै केदार भन्छन्, ‘मैले एक वर्ष जस्तो पब्लिक बस चलाए । एक पटक पनि दुर्घटनामा पारिन ।’ बस चलाउने क्रममा नै फिल्मकर्मी चिरञ्जीवी बस्नेत सँग उनको भेट भयो । चिरञ्जीवी सँग भेट हुँदा नै उनलाई लागेको थियो म पनि यहि लाइनमा आउन पाए । तर यो क्षेत्रमा आउँदा पैसा खर्च हुने रहेछ भन्ने उनले त्यतिबेलाको अवस्था हेरेरै थाहा पाएका थिए । फिल्ममा आउन पैसा चाहिने भएपछि ड्राइभर मात्र भएर हुन्न भन्ने उनलाई लाग्यो । त्यसपछि केदारले खलासी काम गर्दा बचाएको ८० हजारमा अरु पैसा ऋण गरेर ३ लाखको एउटा ट्याक्सी किने । ट्याक्सी चलाएपछि भने कमाइ केही बढी हुन थाल्यो । मन भित्रै देखि फिल्म खेल्ने भूत एकातिर सवार भइरहेको थियो । जम्मा भएको पैसाले उनले अर्को ट्याक्सी खरिद गर्ने सोचे । मासिक २४ पर्सेन्ट व्याज तिर्ने गरी उनले अन्य ट्याक्सी पनि किने । फिल्म खेल्ने योजना पालिरहेका केदारले गाडी व्यवसायलाई पनि अगाडि बढाउदै गए । गाडी व्यवसाय मै लागेका रोजन रखाल यो क्षेत्र छोडेर फिल्म क्षेत्रमा आएका थिए । पहिला देखि कै चिनजान केदार र रोजनमा थियो । त्यसपछि रोजन सँग मिलेर उनले एउटा म्युजिक भिडियोमा मोडल खेल्ने सर्तमा केही पैसा लगानी गरे । तर लिड रोल भनेर एग्रिमेन्ट गरिएपनि दुई सिनमा उनको रोल सकियो । ‘द ट्राप’ ‘फाइट क्लब’ र ‘अन्डर नाइन्टिन’ तीन फिल्ममा उनी सँगै सहकार्य गरेर केदारले लगानी लगाए । तर अझै यो फिल्म रिलिज हुन सकेको छैन । गोकुल राउतको ‘चञ्चले’ बोलको लोकदोहोरीमा उनले फूल मोडलको पैसा तिरेर दुई सिन खेल्न पाए । फिल्ममा लगाएको लगानी पनि फसेको छ यता म्युजिक भिडियोमा पनि उस्तै । त्यसपछि उनलाई यो क्षेत्रमा मुर्गा फसाउने प्रवृत्ति हाबी रहेको भान भयो ।

ऋषिको सेटिङमा लाले, साढे दुई लाखको नाममा ३५ लाख झ्वाम
नाम चलेको निर्देशक सँग केदार फिल्म बनाउन चाहन्थे । तर भन्ने बित्तिकै त्यो प्रकारको निर्देशक कोही भेटिएन् । एवम रितले अगाडि बढ्दै जाँदा उनी निर्देशक ऋषि न्यौपाने सँग ठोक्किन पुगे । चलचित्र ‘लाले’ को स्क्रिप्ट तयार पारेर बसेका ऋषिलाई निर्माता कै कमी थियो।सुरुमा ऋषि सँग भेट हुँदा ‘लाले’ भन्ने फिल्मका लागि मेन क्यारेक्टर गर्ने सहमती भयो । त्यसका लागि साढे दुई लाख रुपैयाँ केदारले हाल्नु पर्ने एक प्रकारको मौखिक सहमती भयो । केदार तयार भए । तर सुरुमा ऋषिले स्क्रिप्ट उनलाई दिएनन् । पछि सुटिङ फ्लोरमा एकैचोटी स्क्रिप्ट पढ्ने मौका मिल्यो । कार्य व्यस्तताले केदार दश दिन पछि मात्र सुटिङ स्पट पुगेका थिए । त्यहाँ जादा उनलाई स्क्रिप्ट चित्त बुझेन । यसपछि उनले साढे दुई लाख रिफन्ड गर्न ऋषिलाई भने । ऋषिले केदारलाई तपाईले भने जस्तै गर्ने हो भने अरु पैसा थप्नुपर्छ भनेर सुझाए । अब आफूलाई चित्त बुझ्दो क्यारेक्टर र सिन हुन्छ भने गरौन त भनेर केदार बाँकी पैसा लगानीका लागि तयार भए । गर्दै जाँदा फिल्म हलमा आउदा समेत ३५ लाख रुपैयाँ सकियो । तर फिल्मले व्यापार गर्न सकेन । यसमा पनि पैसा डुबेपछि राम्रो मान्छेको संगत गर्न नसकेको केदारले महशुस गरे । हुँदा हुँदा अहिले ‘लाले’ आफ्नो नाममा समेत नरहेको उनले थाहा पाए । फिल्मको कपिराइट समेत उनको नाममा छैन । केबल फिल्मको निर्माता केदार राखिने काम भएको छ । अन्तत केदारले सोझो मान्छेलाई मुर्गाको रुपमा फसाइने गरेको ‘लाले’ मा आएर मात्र थाहा पाए । कतै रेष्टुरेन्ट जाँदा चलचित्रकर्मी तथा पत्रकारले खाएको समेत बिल निर्मातालाई नै तिर्न लगाइने गरेको उनको गुनासो छ ।

आगामी दिनमा निर्माता तथा कलाकार केदार राम्रो फिल्ममा मात्र लगानी गर्ने योजनामा छन् । यी सबै तीता मिठा भोगाईबाट चलचित्र क्षेत्र के कस्तो रहेछ भित्रबाट बुझ्न पाएको उनको भनाइ छ । गाडी व्यवसाय र फिल्म क्षेत्र दुवैलाई सँग सँगै लैजाने केदारले बताएका छन् । यो क्षेत्रमा करोड बढी इन्भेष्ट गरेका केदारले भने, ‘मेरो संघर्षको विषय उतार्ने हो भने त फिल्मको लागि एउटा राम्रो कथा नै बन्न सक्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो