आशुसेन फिल्मस्ले गर्यो दीपेन्द्र सरकार निर्माण घोषणा, प्रेमगीत हिरो दीपेन्द्रको भूमिकामा


Filmy Kura, Jun 1, 2017 at 11:57 am

आशुसेन फिल्मस्ले ‘दीपेन्द्र सरकार’ नामक फिल्मको निर्माण घोषणा गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चौथो प्रोजेक्टको रुपमा निर्माण संस्थाले ‘दीपेन्द्र सरकार’ निर्माण गर्ने जानकारी दिएको हो ।

राजदरबार हत्याकाण्ड भएको दिन जेठ १९ लाई अझै पनि कालो दिनको रुपमा लिने गरिन्छ । त्यसको दुई दिन अघि फिल्म बनाउने जनाएको आशुसेनले चलचित्र २०७५ सालको जेठ १९ मा रिलिज गरिने बताएको छ । दीपेन्द्र शाह नेपाली राजनीतिका एक यस्ता पात्र हुन् जो सम्भवतः विश्वमै छोटो समयका लागि राजा भए । १३ औं राजाको रुपमा अर्धमृत अवस्थामा उनलाई राजा घोषित गरिएको थियो । २९ वर्षमा दिवंगत भएका दीपेन्द्रको प्रेममय जीवनीलाई पर्दामा उतारिने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । दीपेन्द्रको भूमिकामा भने ‘प्रेमगीत’ हिरो प्रदीप खड्काले अभिनय गर्नेछन् । अभिनेता प्रदीपले आफूलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि लिएर अनुसन्धानमा आफूलाई होम्ने तयारी गरिरहेका छन् । एक ऐतिहासिक फिल्ममा काम गर्न पाउँदा खुसी लागेको अभिनेता खड्काले समारोहमा बताएका थिए । उनी दीपेन्द्र सरकारले लगाउने भेषमै खडा भएका थिए ।

विवेक कुमार शाह लिखित पुस्तक ‘मैले देखेको दरबार’ मा आधारित रहेर सिनेमा निर्माण गरिने भएको हो । अनुमानित ५ करोड ५० लाख रुपैयाँ बजेटमा निर्माण हुने यो मेगाप्रोजेक्टका निर्देशक देखि अन्य कलाकार केही समयपछि सार्वजनिक गरिने भएको छ । नेपाल, बेलायत र अमेरिकामा छायांकन भव्य सेट खडा गरेर गरिने निर्माता सेनले बताएका छन् । बायोपिक जानरामा राखिएको यो सिनेमालाई दुई फम्र्याटमा तयार गरिनेछ । फेस्टिभलका लागि डेढघण्टा र व्यवसायिक रिलिजका लागि २ घण्टा लामो सिनेमा तयार गरिने भएको छ ।

स्मरण रहोस् उनै निर्माता सेनले निर्माण गरेको ‘प्रेमगीत २’ भने आउदो साउन १३ देखि अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो