हास्यकलाकार धतुरे भन्छन्, ‘पैसा कमाउन होइन ब्राण्ड बनाउन के जमाना आ सुरु गरे’


Filmy Kura, Jul 31, 2017 at 9:58 am

पछिल्लो समय नेपाल टेलिभिजनबाट चार हास्य टेलिशृङ्खला दर्शक माझ नियमित प्रसारणमा आइरहेका छन् । ‘भद्रगोल’, ‘हाक्का हाक्की’, ‘के जमाना आ’ र ‘ब्रेक फेल’ । यि चार शृङ्खलामध्ये ‘के जमाना आ’ भने कलाकारले आफ्नै कम्पनी खोलेर पहिलो पटक प्रसारणमा ल्याएको टेलिफिल्म हो ।


दर्शकलाई मनोरञ्जन दिने नै हास्य टेलिशृङ्खलाको मुख्य उद्देश्य रहेको पाइन्छ । तथापी कतिपय ठाउँमा भने व्यङ्ग्यको नाममा सांस्कृतिक, धार्मिक अनि सामाजिक परिधि नाघेर बेलाबखत सिरियल आउने गरेका समेत छन् । तर यो भिडमा अहिलेको जमानाको प्रतिनिधित्व गरेर निर्माण भएको टेलिशङ्खला हो ‘के जमाना आ’ ।


टिममा आबद्ध रहेका १८ जनाको अथक प्रयास र मिहेनतले झण्डै १ वर्षे लामो यात्रा ‘के जमाना आ’ ले तय गर्दैछ । यो टेलिफिल्मको क्याप्टेन हुन् चिरञ्जीवी प्रसाद पुडासैनी (सिपी) उर्फ धतुरे । अन्य टेलिफिल्मसँग प्रतिपस्र्धा गर्ने हेतुले भन्दा कन्टेन्टमा समसामयिकता ल्याउने र दर्शकको मन जित्ने अभिप्रायका साथ ‘के जमाना आ’ आफूले सुरु गरेको लेखक, निर्देशक तथा शीर्ष कलाकार सिपीले बताएका छन् । काठमाडौं मै जन्मिएका सिपीले कलाकारितामा एक दशक लामो यात्रा पार गरिसेकका छन् ।


आखिर उनले किन ‘के जमाना आ’ सुरु गरे त ? जवाफमा सिपी भन्छन्, ‘कलाकारिता आफैमा दुखको पेशा । म आफै खाउ र अगाडि बढु कहिले सोचिन । प्रतिभा भएका कलाकारलाई प्लाटफर्म नभइरहदा मैले यो टेलिफिल्म सुरु गरेर केही हद सम्म भएपनि राहत दिएको छु । अरु एक्लै सगरमाथाको चुचुरो पुग्न खोज्छन् तर मैले सबैलाई सामेल गरेर लैजाउ भन्ने सोचका साथ अघि बढिरहेको छु ।’ त्यसो त हाल टेलिफिल्मको निर्माण खाइ न पाइ छालाको टोपीलाई भन्ने उखान झै बनिरहेको छ । कमाईको स्रोत केवल स्टेज कार्यक्रम र महोत्सव मात्र बन्न पुगेका छन् । त्यसमा पनि मेन आर्टिस्ट र चलेकालाई मात्र स्थान मिल्ने गरेको छ । झण्डै एक वर्षको अवधि पार गरिरहदा ‘के जमाना आ’ टेलिफिल्मका कलाकारले निर्वाह गरेको पात्र दर्शक समक्ष विस्तारै क्लिक हुँदै गइरहेको छ ।


नेपाल पूरा विकसित भइसकेको छैन । यसर्थ यस टेफिल्मले गाउँ र शहर दुवैको झल्को दिने अर्धविकसित एरियालाई सुटिङको मुख्य थलो बनाएको छ । हाल काठमाडौंको साँखुमा ‘के जमाना आ’ को सुटिङ गरिदै आइएपनि निकट दिनमा गोकर्णेश्वरमा गरिने जानकारी क्याप्टेन सिपीले दिएका छन् । साप्ताहिक रुपमा झण्डै एक लाख रुपैयाँ टेलिफिल्म निर्माण मै खर्च हुने गरेको बताउँदै सिपीले अगाडि थपे, ‘यो टिम पछाडि परेको दुख पाएको टिम हो । मेरो पीडा बुझ्ने कोहीपनि छैन । काठमाडौमा घर भएर पनि म यो दुख पैसा कमाउन होइन सिरियलको ब्राण्ड बनाउनको निमित्त गरिरहेको छु ।’

यस अघि राष्ट्रिय झण्डा दिवस मनाउनुपर्छ भनेर सिरियलमा सिपीले उठाउँदा दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । शृङ्खला लेखनमा सिपीलाई आशिष श्रेष्ठले सघाउदै आएका छन् । ‘के जमाना आ’ मा चिरञ्जीवी प्रसाद पुडासैनी (सिपी), गणेश खड्का, सम्झना आचार्य, केशव सापकोटा, राजु कट्टेल, सम्झना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । शुक्रबार राति साढे ९ बजे एनटिभीबाट प्रसारण हुने यस टेलिशृङ्खला रामसर मिडियाको अफिसियल युट्युव च्यानलबाट पनि हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो