टेलिभिजनमा नयाँ नेपाली फिल्म रिलिज गर्दा हल व्यवसायी तरङ्गित, बहसले कुन मोड लेला ?


Filmy Kura, Oct 13, 2017 at 12:15 pm

पछिल्लो समय नयाँ नेपाली चलचित्र हल सँगै टेलिभिजनमा समेत एकै मितिमा रिलिज हुन थालेपछि चलचित्र वृत्तमा अहिले एक प्रकारको तरङ्ग पैदा भएको छ । खासगरी डिसहोम च्यानलले चलचित्र ‘धुम २’ बाट सुचारु गरेको यो नयाँ प्लेटफर्मलाई अधिकांश निर्माताले भने सकारात्मक भएको टिप्पणी गरेका छन् । कतिपय निर्माता त आफ्नो फिल्म डिसहोमबाट रिलिज गराउन उत्साहित समेत देखिएका छन् । तर गएको सोमबार मात्र विशेष बैठक बसी चलचित्र वितरक तथा हल व्यवसायीको छाता संगठन नेपाल चलचित्र संघले टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चार माध्यम र हलमा एकै दिन रिलिज गर्ने नेपाली फिल्महरुलाई हलमा नचलाउने निर्णय गरेसँगै निर्माताहरु आक्रोशित बनेका छन् ।

निर्माताको एउटै आवाज छ, करोडौ लगानी गरेर निर्माण गरेको फिल्म कहाँ कसरी चलाउने त्यो स्वतन्त्रता मेकरमा निहित हुनुपर्छ भन्ने । चलचित्र संघको उक्त निर्णयलाई लिएर कतिपय चलचित्रकर्मीले त हलवालाहरुको यो दादागिरी भएको बताएका छन् । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले एकै मितिमा नयाँ नेपाली फिल्म हल र टेलिभिजनमा देखाउँदा मेकरलाई क्षणिक रुपमा पैसा आएर फाइदा हुने जस्तो देखिएपनि यसले दिर्घकालिन रुपमा भने चलचित्र क्षेत्रलाई नै नोक्सानमा लिएर जाने तर्क गरेका छन् ।

अचेल फुर्सद भएर चिया पिउन बस्दा समेत प्रत्येक चलचित्रकर्मीको यहि टपिकमा बहस हुने गरेको छ । निर्मातालाई आफ्नो फिल्म कहाँ देखाउने व्यवसायिक स्वतन्त्रता भएको र चलचित्र संघले गरेको निर्णय भने यसलाई बन्देज गर्ने खालको भएको भनाइहरु आइरहेका छन् । यसैबीच डिसहोमले हाल सम्म ‘धुम २’, ‘लिला’, ‘मेरो पैसा खोई’ नामक चलचित्र एकै मितिमा टेलिभिजनमा देखाइसकेको छ ।

यो प्रविधि मार्फत डिसहोम प्रयोगकर्ताले घरमै बसी बसी हप्तामा एउटा नयाँ नेपाली फिल्म हेर्न झण्डै तीन सय रुपैयाँको प्याकेज लिनुपर्ने हुन्छ र उक्त रकम रिचार्जबाट सजिलै पे गर्न सकिन्छ । तिहार पर्वलाई मध्यनजर गर्दै कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’ पनि डिटिएच प्रविधि मार्फत टेलिभिजनमा हेर्न सकिनेछ । तर यता यो चलचित्र हलमा भने लाग्ने या नलाग्ने कुनै टुंगो छैन । चलचित्र संघको निर्णय अनुसार हलमा यो फिल्म लाग्ने छैन तर लगाउने या नलगाउने अझै छलफल चलिरहेको संघका अध्यक्ष उदयले बताएका छन् ।

यसैबीच मेकरहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको असोज २५ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले पछिल्लो समयमा डिस होम टेलिभिजन र सिनेमा घरहरुमा नेपाली चलचित्र एकसाथ प्रदर्शनलाई लिएर आएको विवाद सम्बन्धमा नेपाली चलचित्रको प्रदर्शनलाई व्यवस्थित र समयानुकुल ढंगबाट अगाडी बढाई सौहार्दपूर्ण रुपमा हाल देखिएका समस्याहरुको समाधानका लागि नेपाल चलचित्र संघसँग तत्काल वार्ता गर्न संघका महासचिव रोज राणाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटि गठन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो