मदहोस् देखि टिनएज सम्मको यात्रा, दिनेश पाख्रिन भन्छन्- साउन २५ मेरो परीक्षा


Filmy Kura, Jun 17, 2018 at 8:05 pm


२५ वर्ष एउटै क्षेत्रमा त्यो पनि अनवरत संघर्ष गर्दै बस्नु आफैमा एक साहस हो । ती साहसी व्यक्ति हुन् दिनेश पाख्रिन । जो आफैमा निर्माता, निर्देशक तथा कोरियोग्राफर हुन् । तर उनलाई हाल सबैमाझ चिनाउने पेशा भने नृत्य निर्देशन बनेको छ ।

२०३४ सालमा धनुषा जिल्लामा जन्मिएका पाख्रिनले यहाँ सम्म आइपुग्न कम्ता संघर्ष गरेका छैनन् । बाल्यकाल देखि नै नृत्यमा विशेष रुचि राख्ने पाख्रिन मध्यम परिवारका हुन् । किसान परिवारमा जन्मिएका उनले दुख के हो संघर्ष के हो बुझेका छन् । २०४८ सालमा उनी नृत्य मै भविष्य खोज्दै काठमाडौं आइपुगे । ललितपुरको पाटन मल्टिपल क्याम्पसमा आइएसी सम्मको अध्ययन गरेका उनी सुरुवाती समयमा स्टेजमा नृत्य प्रस्तुति मार्फत अगाडि बढे ।

भिडियो फिल्म ‘मदहोस्’ मा निर्देशक अशोक श्रेष्ठले उनलाई ब्रेक दिए । त्यसपछि उनमा अझ उर्जा बढ्दै गयो । तर उनको चाहना चलचित्रको नृत्य निर्देशक हुने थियो । उनी त्यो पल सम्झदै भन्छन्, ‘चलचित्र नृत्य निर्देशक हुनका लागि टेक्निकल कुरा जान्नुपर्दो रहेछ भन्ने महसुस भयो । म भारततीर हानिए । आफूलाई निखार्न कै लागि भारतको जबलपुरमा आकाश इन्टरनेशनल आर्ट इन्स्टिच्युटमा डान्समा डिप्लोमा गरे ।’ भारतबाट केही ज्ञान लिएर नेपाल फर्किए पछि उनमा आत्मविश्वास अझ बढ्यो । त्यसपछि फिल्ममा गर्नुपर्छ भन्ने मानसिकता बनाए । कोरियोग्राफर शान्ता नेपालीको एसिस्टेन्ट भएर फिल्ममा पहिलो पटक काम गरे । जून फिल्मको नाम थियो ‘करोडपति’ । अनुभवले नै मानिस खारिन्छ भने झै पाख्रिनको जीवनमा पनि यो कुरा विस्तारै लागु हुँदै गयो ।


स्व. बसन्तजंग रायमाझी जो बरिष्ठ नृत्य निर्देशक हुन् उनको पर्सनल एसिस्टेन्ट भएर उनले थुप्रै फिल्ममा काम गरे । यस बीचमा उनलाई नृत्य निर्देशक भएर काम गर्ने अफर नआएको भने होइन तर उतिबेला उनलाई जुरेन । एकैचोटी ‘शहर’ फिल्ममा आएर भने उनले नृत्य निर्देशकको रुपमा काम गर्ने मौका पाए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । तर मिहेनत नगरी सफलता प्राप्त हुँदैन भन्ने भनाईलाई उनले सधैं सिरोपर गरेर अगाडि बढे । त्यसपछि क्रमश उनले ‘क्रान्ती’, ‘जेठा कान्छा’, ‘चिनारी’, ‘लेखान्त’, ‘माया बसेछ’, ‘क्रोध’, ‘निखिल दाई’, ‘मैदान’ लगायत भोजपुरी, बङ्गाली र तामाङ भाषाका गरेर १५० बढी चलचित्रमा नृत्य निर्देशक भएर काम गरे ।

नृत्य निर्देशकमा मात्र आफूलाई सिमित नराखी फिल्म निर्माण पनि गर्नुपर्छ भन्ने सोच उनमा थियो । जून सोच साकार पनि भयो । उनले ‘मिस्टर डन’, ‘मेरो प्यारो माइती घर’, ‘लभ इन चाइना बोडर’ र ‘रुद्राक्ष’ निर्माण समेत गरे । १५० भन्दा बढी फिल्ममा जोडिदा उनले राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, सुशील क्षेत्री, दिलिप रायमाझी देखि रेखा थापा, झरना थापा, करिष्मा मानन्धर, उषा पौडेल, रेजिना उप्रेति, सुस्मिता केसी सम्मलाई नचाई सकेका छन् । तामाङ र राई कल्चरको फिल्म निर्देशन गरेका उनले पछिल्लो समयमा आएर भने नेपाली भाषाको समेत फिल्म निर्माण तथा निर्देशन गरे । जून फिल्मको नाम हो ‘टिनएज’ ।

यो फिल्म सम्म आइपुग्दा उनले धेरे आरोह अवरोह पार गरिसकेका छन् । नेपाल चलचित्र नृत्यकार संघमा दुई कार्यकाल अध्यक्ष भई कार्य गरेको अनुभव समेत उनमा छ । पाख्रिन शंखमुलमा रहेको डायमण्ड आर्ट एकेडेमीको सञ्चालक पनि हुन् । नृत्य सम्बन्धि तयार पारिएको किताब निकाल्ने तयारी समेत उनी गरिरहेका छन् । जुन किताबको नाम उनले ‘जय नृत्य’ तय गरेका छन् । तर अहिले उनी आफै निर्मित तथा निर्देशित चलचित्र ‘टिनएज’ को ज्यादा कार्यमा व्यस्त छन् । आगामी साउन २५ गते लाई रिलिज डेट लिएर बसेका पाख्रिन फिल्म राम्रो बनेको दाबी गर्छन् । झण्डै ५० लाखको बजेटमा निर्माण भएको फिल्म यस अघि नै रिलिज हुनुपर्ने हो । तर २०७४ असोज २७ को डेट लिएपनि उक्त मितिमा वितरकसँग कुरा नमिलेपछि यो फिल्मको रिलिज पछि सरेको थियो ।

दिनेशले यो फिल्ममा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । आखिर किन त ? जवाफमा उनी भन्छन्, ‘मेरो फिल्म टिनएजर्स् किशोर किशोरीको कथामा आधारित छ । जसमा नयाँ अनुहार नै चाहिन्थ्यो । फिल्मको कथावस्तु अनुसार कलाकार छनोट गरिएको हो ।’ यो चलचित्रलाई उनले म्युजिकल लभस्टोरी भन्न रुचाए । चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । यो चलचित्रमा नरेश विर सिंह (डि.आइ.डि सिजन २ को टप ५), एन्जिला खड्गी, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण शिवाकोटी, सरिता राज उपाध्याय, रेशम फिरिरि, अजय खड्का, निर्मल स्याङ्तान लगायतले अभिनय गरेका छन् ।

हेलेन पाख्रिनको प्रस्तुतिमा विरु मगर र चिनिमाया पाख्रिनले ‘टिनएज’ लाई निर्माण गरेका हुन् । निर्मल स्याङ्तान र देविका खड्का फिल्मको सह–निर्माता हुन् । ३७ दिन लगाएर सुट गरिएको यो चलचित्र काठमाडौं उपत्यका भित्र खिचिएको छ । बसन्त सापकोटा र विकास चौधरीले फिल्मको गीतमा संगीत दिएका छन् । राजेशपायल राई, प्रविशा अधिकारी, अन्जु पन्त, टिका प्रसाई, कमल खत्रि सहित बाल गायिका दर्शना महर्जनले गीतमा आवाज भरेका छन् । फिल्मको प्रचार प्रसारलाई अझ व्यापक बनाउने निर्माता तथा निर्देशक पाख्रिनले फिल्मीकुरालाई बताए । उनले भने, ‘लामो वर्षको अनुभव पश्चात राम्रो फिल्म निर्देशन गर्ने प्रयास गरेको छु । टिमवर्क राम्रो भएका कारण पनि रिजल्ट राम्रो हुनेमा विश्वस्त छु । मलाई लाग्छ साउन २५ मेरो लागि परीक्षाको दिन हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो