वर्षौ विदेश बसेर दुखले कमाएको धन मिनले लगाए फिल्ममा


Filmy Kura, Jul 28, 2018 at 6:04 pm


कलाकार तथा निर्माता मिन कुमार तामाङ फिल्म क्षेत्रमा आउनु पूर्व विदेशमा बस्ने गर्दथे । उर्वर युवा जोश उनले विदेशका विभिन्न भू–भागमा खर्चिएका छन् श्रम गरेर । सायद त्यो उनको बाध्यता थियो । हुन् त परिवार छोडेर विदेश भासिन कसलाई पो रहर लाग्छ र । समय मै पैसा कमाउ अनि सेटल होउ भन्ने लाग्नु स्वभाविक हो । कतार, मलेसिया र दुबई जस्ता देशमा श्रमको सिलसिलामा पुगेका मिन कुमारले दुख के हो श्रम के हो र पसिनाको कमाईको महत्व कति हुन्छ राम्रोसँग बुझेका छन् ।

नुवाकोट जिल्ला घर भएका मिनले झण्डै ७ वर्ष विदेश बसाईको क्रममा हन्डर र ठक्कर के हो अनुभूत गरेका छन् । दुखले आर्जन गरेको धन उनले नाम कमाउने उद्देश्यले फिल्ममा लगानी गरे । सुरुवाती समयमा फिल्मको ज्ञान नभएका कारण उनलाई यो क्षेत्र झन् के हो के हो लाग्न थाल्यो । नेपाली समुदाय कै वास्तविक कथालाई उनले पर्दामा उतारेका छन् । सुकुम्बासी बस्तीको कथालाई पर्दामा उतारेका उनी ब्याक स्टोरी सेयर गर्दै गर्दा भावुक देखिए । उनले थपे, ‘हिजोको दिनमा एक छाक खानको लागि मैले घरमै पनि संघर्ष गरेको थिए । उमेर क्रमसँगै म विदेश तिर लागे । तर विदेश सोचे जस्तो थिएन । बाहिर जान साथ पैसा रुख मै फल्छ झै ठान्नु त्यो त मुर्खता सिवाय अर्को होइन रहेछ ।’ विगतको संघर्ष सम्झदै गर्दा निर्माता तथा कलाकार मिनको आखा रसाए ।


सानैदेखि उनमा फिल्म प्रति भने रुचि थियो । सम्भव भए फिल्म क्षेत्रमा आउने उनको योजना विदेशमा रहदा पनि थियो । उनले विभिन्न बाधा व्यवधानको बाबजुत आफ्नो सपना त साकार गरे । तर अब पर्खाइ रिजल्टको रहेको छ । उनले अभिनय तथा निर्माण गरेको चलचित्र हो ‘झमक बहादुर’ । यसै चलचित्रबाट आम दर्शकमाझ पुग्दैछन् मिन । उनले ठूलो सपना त संगालेका छैनन् तर यति हो आफ्नो काम दर्शकले रुचाए भने फिल्म क्षेत्र मै निरन्तरता दिने । दुखले कमाएको धन नेपाली दर्शकको मनोरञ्जनको लागि उनले फिल्ममा लगाए । फिल्म रिलिज हुन अब एक साता मात्र बाँकी रहेको छ । एकातिर प्रेसर फिल अर्कोतिर दर्शकसमक्ष पुग्ने सुनौला अवसर । यि दुवै कुरालाई उनले अवसर र चुनौतीको रुपमा लिएका छन् । लगानीको विषयमा प्रश्न गर्दा उनले भने, ‘झमक बहादुरलाई सुरु गर्दाको अवस्था अर्कै थियो । तर अहिले रिलिज सम्म आइपुग्दा खर्च झन् झन् बढेको छ । मलाई त यो प्राविधिक पाटोको ज्ञान थिएन । फिल्म इन्कोडिङ गर्ने, सेन्सर पासको लागि धाउनु पर्ने, पोष्टर पप्लेट टास्ने कार्यको विषयमा त्यति जानकारी थिएन । यि सबै कुरा मिलाउनको लागि धेरै गाह्रो रहेछ ।’

उनी एउटै फिल्मबाट आफ्नो यात्रा रोकियोस् भन्ने पक्षमा छैनन् । उनको यो क्षेत्रमा आउने रहर पनि होइन । मिन चाहान्छन् फिल्म क्षेत्रमै संघर्ष गरौ अनि नाम र दाम कमाउ भन्ने । तर यति सजिलो पनि छैन यो क्षेत्र । यहि क्षेत्रमा नाम दाम कमाउने केही हाल गुमनाम छन् । कोही वर्षौ देखि संघर्ष मै छन् । उनको त यो केबल सुरुवात हो । उखान नै छ कर्म नगरी फल प्राप्त हुँदैन भन्ने । त्यसैले त मिन अचेल कर्ममा जोड दिइरहेका छन् । काम गर्दै जादा उनले यो क्षेत्रको राम्रो र नराम्रो दुवै पक्ष केलाउन समेत भ्याइ सकेका छन् । धेरै व्यक्तिलाई फिल्म नगरीमा लगानी गर्न सुरुवातमा उत्साहित गराउँदै मुर्गा बनाउने गरिएको कुरामा समेत मिन सचेत भइसकेका छन् । उनलाई यो पनि थाहा छ कि राम्रो विषयमा राम्रा कलाकार लिएर निर्माण गरिएका फिल्म मात्र चल्छ भन्ने कुरा । चलचित्रमा लगानी गरेकै कारण फिल्म खेलेको हो भन्ने जिज्ञासामा भने उनको जवाफ फरक आयो । उनले भने, ‘मैले लगानी गरेकै कारण फिल्म खेलेको चाहि होइन । निर्देशक भोमन कटुवालले मलाई एउटा यस्तो प्रकारको क्यारेक्टर छ भनेर भन्नुभयो । त्यसपछि अडिसन लिनुभयो । सायद उक्त क्यारेक्टरको लागि मैले अभिनय गर्न सक्छ भन्ने देखेरै उहाँले लिनु भएको हुनुपर्छ ।’


पहिलो चोटी स्क्रिन सेयर गर्न पाउँदा मनमा ज्यादा उत्सुकता पैदा भएको उनको तर्क छ । फेरि रोल पनि उनले त्यस्तै पाए । प्रहरी अफिसरको भूमिका तर स्त्रिसँग बेडसिनको । पहिलो पटक बेडसिनको लागि खुल्न धेरै गाह्रो परेको उनको अनुभव छ । बेडसिनको लागि ३६ पटक सम्म टेक लिएको स्मरण गर्दै उनले अभिनय सोचेजस्तो सजिलो नभएको बताए । जे होस् असम्भव केही छैन भन्ने कुरालाई अङ्गीकार गर्दै आफूलाई हरेक कुरामा तयार पारेको उनको भनाइ छ । चलचित्रमा मिनको जोडीको रुपमा सुजता थापाले अभिनय गरेकी छिन् । यि दुई अचेल निकै क्लोज छन् । फिल्मबाटै चिनिएका यि दुईले आफूले जानेको कुरा एक अर्कामा सेयर गर्छन् । मिनले हरेक कलाकारले आफूलाई सुटिङको बेला को–अपरेट गरेको बताएका छन् ।

श्रावण १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘झमक बहादुर’ ले दर्शकलाई निराश नबनाउने उनको दाबी छ । उनले फिल्मको कथावस्तु मै दम रहेको भन्दै सम्पूर्ण दर्शकलाई फिल्म हेर्न अपिल गरेका छन् । यतिमात्र होइन भोलिको दिनमा यो क्षेत्रमा मिन रहने या नरहने भन्ने कुराको निर्धारणकर्ता पनि दर्शक नै हुन् । यसकारण पनि उनी यतिबेला रिजल्टको पर्खाइमा रहेका छन् । यो चलचित्रमा अनुप विक्रम शाही, सुजता थापा, मिन कुमार तामाङ, यादव देवकोटा, राजु कमेडी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो