डबल मिनिङ र पूराना जोकको भण्डार बन्यो राष्ट्रिय नाचघरको गाईजात्रा


Filmy Kura, Aug 31, 2018 at 5:22 pm


के हँसाउन डबल मिनिङको प्रयोग गर्नै पर्छ ? के दर्शकको हुटिङ पाउन विषय अर्कै भएपनि पुराना जोकको समिश्रण गरेर कथा बुनिनै पर्छ ? यो प्रश्न भर्खरै हास्य क्षेत्रमा प्रवेश गरेको नव कलाकारलाई होइन यो त दुई दशक भन्दा लामो समय हास्यव्यङ्ग्य क्षेत्रमा आफूलाई उभ्याइसकेका ख्याति प्राप्त कलाकारलाई हो ।

भाद्र ११ देखि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा चलिरहेको ‘गाईजात्रा महोत्सव २०७५’ हेर्दा हर कोही दर्शकको मनमा यि प्रश्न उठ्नु स्वभाविक हो । त्यसो त विगत वर्षमा आयोजना हुने गाईजात्रामा डबल मिनिङको प्रयोग गरिदैन थियो भन्न खोजिएको होइन । पुराना तथा पाका कलाकार जो नाचघरका अभिनय प्रशिक्षक समेत हुन् प्रभावकर शर्मा उनको संयोजकत्वमा यतिबेला गाईजात्रा महोत्सव चलिरहेको छ । भाद्र १८ सम्म जारी रहने महोत्सवमा पाँचवटा प्रहसन रहेको छ भने एउटा आइटम नृत्य समावेश गरिएको छ । हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलले कार्यक्रम होस्टको भूमिका निर्वाह गरेका छन् । दर्शक होल्ड गर्ने मामलामा उनी अब्बल सावित भएका छन् । समसायिक विषय र प्रसंग ल्याउँदै कार्यक्रम सञ्चालन गरेका उनले दर्शकलाई नेताको क्यारिकेचर गर्दै गीत गाएर प्रफुल्लित बनाउँछन् ।

पहिलो प्रहसन मार्फत महोत्सव संयोजक शर्मा ‘आ.आ.जा.वा’ नामक प्रहसन लिएर आउँछन् । पर्दा खुल्छ । कलाकार सुशीला निरौला ढाड चिलाएर उपचार खोजिरहेकी हुन्छिन् । उनी म्यानपावर कम्पनीमा काम गर्ने एक कर्मचारीको भूमिकामा रहेकी छिन् । सोही कम्पनीमा काम गर्ने गाडलाई उनले ढाड कन्याउन लगाउछिन् अनि सुरु हुन्छ डबल मिनिङको प्रयोग । यो प्रहसनले हरेक ठाउँमा भ्रष्टचार हुने गरेको सन्देश प्रवाह गर्छ तर हसाउन कै लागि डबल मिनिङ र पुराना जोक समिश्रण गरिनु कमजोरी पक्षको रुपमा हेर्न सकिन्छ ।

अब लागौ अर्को प्रहसन तर्फ । प्रहसनको नाम हो ‘ककथी’ । यो समुहमा भने रवि डंगोल, पूर्ण थापा, पल्पसा डंगोल र सन्तोष खनाल जस्ता कलाकार सहभागी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका कुल्फीवालाको क्यारेक्टरबाट यो प्रहसनको पर्दा खुल्छ । कुल्फीवालाको पूर्ण प्रभाव परेका ती व्यक्ति चिया व्यापारी हुन्छन् । आयो चिया आयो..आयो चिया आयो…भन्दै उनले ग्राहक बोलाउछन् । यो प्रस्तुतिमा पछिल्लो समय सरकारले स्थानीयलाई लगाएको करको विषय समावेश छ । केही डबल मिनिङको प्रयोग गरिएपनि यो प्रसहन भने निकै सन्देश मूलक र व्यङ्ग्यात्मक रहेको छ ।

त्यस्तै अर्को प्रहसनको नाम तय गरिएको छ ‘नेपालको पानी जहाज’ । यो प्रहसनमा भने दमन रुपाखेती, पारवन राई, निरज नेपाल लगायतको कलाकारको समूह रहेको छ । यसमा पनि दुईअर्थी शब्दको भण्डार पाउन सकिन्छ । अन्तत बुढापाकाले जवान केटी देखेपछि कुदृष्टि ले नै हेर्छन् भन्ने जस्तो गलत सन्देश दिन खोज्नु यो प्रहसनको पहिलो कमजोरी हो । नारीको अंगप्रति बुढापाकाको ध्यान जान्छ भनेर सुरुवातमा देखाएपनि यो प्रहसनले एक नेपाली र अर्को नेपालीले झै–झगडा गरेर बेमलको अवस्था सिर्जना गर्ने हैन मिल्नुपर्छ भन्ने सन्देश छाडेको छ । नेपाली जनता एक भए भने नेताले कहिल्यै खराख कार्य गर्न नसक्ने कुराको भान यो प्रहसन हेरेपछि पाउन सकिन्छ ।

सबैभन्दा बढी डबल मिनिङको प्रयोग भएको प्रहसन हो ‘सार्वजनिक शौचालय’ । यो समूहमा शिवहरि बैरागी, विष्णु सापकोटा, शिव शर्मा, इन्द्र दोङ लगायतका कलाकार रहेका छन् । लेडिज ट्वाइलेटमा पुरुष छिर्नु । गोप्य अंग देख्दा पटक पटक उसले कल्पना गर्दै हास्नु जस्ता पक्षमाथि अत्याधिक दुईअर्थी शब्दको प्रयोग गरिएको छ । यद्धपि सार्वजनिक शौचालयमा पानीको अभाव हुने, फोहोर धेरै हुने लगायतका पक्षलाई कडा रुपमा व्यङ्ग्य समेत हानिएको छ । यति मात्र होइन यो प्रहसनमा सामान्य ज्वरो आउँदा उपचारका लागि नेता विदेश धाउने परम्परा बसेको भन्दै यदि बाहिर कतै निस्कदा पिसाब लागि हालेमा सार्वजनिक शौचालय होइन फाइभ स्टार होटलको शौचालय नै बुक गर्नु भनि नेतालाई कडा व्यङ्ग्य गरिएको छ । र, सार्वजनिक शौचालय प्रयोग गर्नबाट बन्चित गराइएको छ । तर दुईअर्थी शब्द प्रयोग गरिएकै प्रहसनमा मानिस पेट मिचि मिचि जोडले हासेका छन् ।

उता शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुला साग’ को भने ‘सपेरा’ नामको प्रहसन रहेको छ । जून प्रहसनले भने नेपालका शीर्षस्थ नेतालाई प्रतिकात्मक रुपमा व्यङ्ग्य गरेको छ । सर्पलाई हरेक शीर्ष नेताको रुपमा प्रयोग गरिएको छ । यतिमात्र होइन भारतले अनेकौ पटक नेपाललाई हस्तक्षेप गरेको प्रसंग समेत यो प्रहसनमा समावेश गरिएको छ ।

यो त थियो प्रहसनको कुरा । प्यारोडी गायकको रुपमा वर्षेनी गाईजात्रामा प्रस्तुत हुने गायक तथा संगीतकार टिका भण्डारीले यो पटक चलेका १० गीत माथि प्यारोडी गरेका छन् । उनको शब्द चयनलाई मान्ने पर्छ । तर ८ सय भन्दा बढी गीतमा संगीत भरिसकेका उनले स्टेजमा प्रस्तुत हुँदा लिप्सिङ दिइएको भने पटक्कै सुहाउँदैन । साकिरा नामक गीतमा हरिशा बानियाले मर्काएको कम्मरमा सबै दर्शक मोहित हुन्छन् । यि यावत कमीकमजोरीको बाबजुत पनि यो पटकको गाईजात्रा महोत्सव मनोरञ्जक बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो